काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नगरी स्वदेश फर्कने भएका छन् । शुक्रबार भारत भ्रमणमा गएका प्रचण्डले मोदी भेटवार्ताका लागि समय नदिएपछि फर्किन लागेका हुन् ।
यसअघि प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँग भेट हुन सक्ने बताएका थिए । प्रचण्डले अन्तिम समयसम्म मोदीसँग भेटवार्ता गर्न खोजेका थिए । भाजपाको केन्द्रीय कार्यालयबाट बाहिरिने क्रममा उनले “क्लाइमेक्स अझै बाँकी छ” भन्ने प्रतिक्रिया दिएका थिए ।
तर, मोदीले समय नदिएपछि नभेटी उनी काठमाडौं फर्किदैछन् । प्रचण्डले नेपाल एअरलाइन्सको दिउँसो ४ः२० बजेको उडानमार्फत काठमाडौं आउन लागेको बुझिएको छ ।
भारतमा रहँदा प्रचण्डले भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डा, भारतीय विदेशमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायतसँग भेटवार्ता गरेका थिए ।
वि.सं.२०७९ साउन १ आइतवार १६:४० मा प्रकाशित






























