काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको थियो । स्याङ्जा–१ मा एमालेका नारायणप्रसाद मरासिनीले कांग्रेसका राजु थापालाई हराएका थिए भने क्षेत्र नम्बर २ मा एमालेकै पद्माकुमारी अर्यालले कांग्रेसका गोपालमान श्रेष्ठलाई हराएकी थिइन् ।
स्याङ्जा–१ मा एमालेका मरासिनीले केही फराकिलो मतान्तरसहित विजय हात पार्दा स्याङ्जा–२ मा भने केही कसिलो प्रतिस्पर्धा देखिएको थियो । एमालेका मरासिनीले कांग्रेसलाई थापालाई १० हजार ५६४ मतले हराएका थिए भने नेतृ पद्माले कांग्रेसलाई श्रेष्ठलाई ३ हजार ७०६ मतले हराएकी थिइन् ।
राष्ट्रिय राजनीतिमा स्थापित गोपालमानलाई ०७४ को निर्वाचनले एक रुपमा पाखा पन्छाइदिएको थियो भने पद्मालाई स्थापित गर्ने मौका दिएको थियो । ०७४ को निर्वाचन जितेसँगै पद्मा मन्त्री मात्रै भइनन् एमालेको दशौं महाधिवेशनबाट केन्द्रीय सचिव पदमा निर्वाचितसमेत भइन् । १९ सदस्यीय एमालेको केन्द्रीय सचिवालयमा रहेका दुई महिला सदस्यमध्ये पद्मा एक सदस्य हुन् ।
फेरि जित्न भने एमालेलाई सकस
स्याङ्जामा ०७४ को अवस्थाभन्दा राजनीतिक अवस्था अहिले केही भिन्न बनेको छ । ११ स्थानीय तह रहेको स्याङ्जामा ६ स्थानीय तह जितेको भएपनि एमालेको मत खस्केको देखिन्छ ।
स्याङ्जा–१ मा आँधिखोला गाउँपालिका, फेदिखोला गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका, पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका (४ वडा), वालिङ नगरपालिका (२ वडा), विरुवा गाउँपालिका र हरिनास गाउँपालिका पर्दछन् । स्याङ्जा–१ भित्र पर्ने ५२ वडामध्ये कांग्रेसले ३१ वडा जितेको छ भने एमालेले २० र माओवादी केन्द्रले १ वडा जितेको छ ।
जसका आधारमा स्याङ्जा–१ मा कांग्रेस एमालेभन्दा बलियो देखिन्छ । वडा तहमा कांग्रेसले पाएको मतलाई हेर्दा आगामी निर्वाचनमा कांग्रेस नेतृत्वलाई चुनाव जित्न सजिलो हुनेछ ।
यता, स्याङ्जा–२ मा भीरकोट नगरपालिका (५ वडा), वालिङ नगरपालिका (१२ वडा), चापाकोट नगरपालिका, गल्याङ नगरपालिका र कालिगण्डकी गाउँपालिका पर्दछन् । स्याङ्जा–२ भित्र पर्ने ४५ वडामध्ये कांग्रेसले २५ वडा जितेको छ भने एमालेले २० वडा जितेको छ ।
जसका आधारमा स्याङ्जा–२ मा पनि कांग्रेस एमालेभन्दा बलियो देखिन्छ । वडा तहमा कांग्रेसले पाएको मतलाई हेर्दा आगामी निर्वाचनमा कांग्रेसलाई नै चुनाव जित्न सजिलो हुनेछ ।
२०७४ मा भएकाे प्रतिनिधिसभा निर्वाचनमा एमालेले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको थियाे । तर, यसपटक एमालेलाई दुवै क्षेत्र जित्न कठिन छ । अर्कोतर्फ, पाँच दलीय सत्ता गठबन्धन आगामी चुनावमा मिलेर जाने तयारीमा छन् । गठबन्धन मिलेमा एमालेलाई थप कठिन हुनेछ ।
वि.सं.२०७९ साउन २७ शुक्रवार १४:१० मा प्रकाशित



















