काठमाडौं । ज्योति विकास बैंकले पैसा डबल हुने मुद्धती खाता सञ्चालनमा ल्याएको छ । बैंकले रेमिट्यान्स प्राप्त रकमलाई मुद्धती खातामा बचत गरी ६५ महिनामै डबल हुने “ज्योति रेमिट्यान्स दुई गुणा डिपोजिट”मुद्धती खाता सञ्चालनमा ल्याएको हो ।
बैंकले विदेशमा गरिएको मेहनतको कदर गर्दै रकम डबल प्राप्त हुने मुद्धती योजना सार्वजनिक गरेको जनाएको छ । बैंकका अनुसार व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको उक्त डबल मुद्दती खाता न्यूनतम मौज्दात १० हजार वा सोभन्दा बढी रकम जम्मा गरि खोल्न सकिन्छ । सो खाता बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट तथा विदेशमा रहेका ग्राहकहरु द्वारा अनलाइनबाटै भिडियो केवाईसी अपडेट गरी संचालनमा ल्याउन सकिने बैंकले जनाएको छ ।
त्यसैगरी, यस खातामा ग्राहकलाई आवश्यक परेको खण्डमा साँवा रकमको ९० प्रतिशतसम्म ऋण सुविधाको व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकले यो योजना २०७९ भदौ महिना सम्मको लागि लागु हुने जनाएको छ । बैंकका अनुसार रेमिट्यान्स आम्दानी बाहेकका ग्राहकहरुको लागि पनि “ज्योति दुई गुणा डिपोजिट” मार्फत ७० महिनामै रकम डबल हुने मुद्दती योजना पनि संचालनमा ल्याइएको छ ।
बैंकले हाल ११९ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ६५ वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।
वि.सं.२०७९ भदौ ६ सोमवार ११:४४ मा प्रकाशित





























