काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओ भर्दा लाग्ने सी–आस्वा शुल्क घटाउने भएकाे छ। नेपाल धितोपत्र बोर्डको आइतबार साँज बसेको सञ्चालक समितिको बैठकले आईपीओ भर्दा लाग्ने शुल्क घटाउने निर्णय गरेको हो ।
सेबोनले आईपीओ भर्दा ५ रुपैयाँभन्दा बढी आश्वा शुल्क लिन नपाउने निर्णय गरेको छ । हाल यस्तो शुल्क अधिकतममा १०० रुपैयाँ लिन पाउने व्यवस्था छ । अहिले ४ वटा वाणिज्य बैंकहरुले निःशुल्क रुपमा सी–आस्वा सेवा प्रदान गर्दै आएका छन् भने बाँकी १० रुपैयाँदेखि १०० रुपैयाँसम्म सी–आस्वा शुल्क उठाउँदै आएका छन् ।
सेबोन अध्यक्ष रमेश हमालले बैंक तथा वित्तीय संस्थाहरु लगानीकर्ताप्रति उत्तरदायी बनुन् भन्ने उद्देश्यले यो निर्णय गरिएको बताए । उनले आस्वा सेवा निःशुल्क गराउन भने तत्काल नसकिने बताए ।
लामो समयदेखि लगानीकर्ताहरुले सी–आस्वा सेवा निःशुल्क हुनुपर्ने माग गर्दै आएका छन् ।
बोर्डका अध्यक्ष नियुक्त भएपछि हमालले सेयर कारोबारमा लगानीकर्ताले तिर्नुपर्ने शुल्कका विषयमा अध्ययन गर्न आन्तरिक समिति बनाएका थिए । उक्त समितिले घटाउन सकिने शुल्कहरू सहितको प्रतिवेदन बुझाएको थियो ।
वि.सं.२०७९ भदौ ६ सोमवार १२:१९ मा प्रकाशित





























