काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा बजारमा उतारचढाव देखिए पनि अन्त्यतिर लगातार पाँच दिनको गिरावटले लगानीकर्ताको मनोबल भने कमजोर बनाएको छ ।
गत साउन ५ गते कारोबार बन्द हुँदा २७१९.२४ अंकमा रहेको नेप्से साउन १५ गते २,६८५.५४ अंकमा झर्दा ३३.७० अंक (करिब १.२४ प्रतिशत) ले घटेको छ ।
साउन ५ देखि १० गतेसम्म बजारले केही सुधारको संकेत देखाए पनि साउन ११ गतेदेखि साउन १५ गतेसम्म लगातार पाँच दिन नेप्से घटेको थियो । यो अवधिमा मात्रै नेप्से ४९.०६ अंकले ओरालो लागेको थियो ।
बजार सूचकसँगै बजार पूँजीकरण पनि घटेको छ । साउन ५ गते बजार पूँजीकरण रु. ४६ खर्ब ७३ अर्ब २१ करोड रहेकोमा साउन १५ गत रु. ४६ खर्ब १५ अर्ब २९ करोडमा झरेको छ ।
यस अनुसार १० दिनमा मात्र लगानीकर्ताको करिब रु. ५७ अर्ब ९२ करोड बराबरको सम्पत्तिबाट बजार बाट गायब भएको देखिएको छ ।
यद्यपि, यदि गत साउन ८ मा पुगेको उच्च बजार पूँजीकरण रु. ४६ खर्ब ९९ अर्ब ६१ करोड साउन १५ को तुलना गर्ने हो भने करिब रु. ८४ अर्ब ३२ करोड बराबरको बजार मूल्य घटेको देखिन्छ ।
नेप्से ओरालो लागेसँगै कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ । साउन ५ गते रु. ५ अर्ब ४४ करोड बराबरको कारोबार भएकोमा साउन १५ गते यो रकम ३ अर्ब ६८ करोड रुपैयाँमा सीमित भएको छ । कारोबार संख्या ६६ हजार २५ बाट ४६ हजार २७३ मा झरेको छ भने कारोबार भएको सेयरको भोल्युम पनि १ करोड १३ लाख कित्ताबाट ७९ लाख ७१ हजार कित्तामा सीमित भएको देखिन्छ ।
लगातार पाँच दिनको गिरावटले बजारमा बिक्री दबाब बढेको, नयाँ खरिदकर्ता कम सक्रिय भएको तथा लगानीकर्ताले नाफा सुरक्षित गर्ने रणनीति अपनाएको संकेत गरेको बजार विश्लेषकहरू बताउँछन् ।
वि.सं.२०८३ साउन १७ आइतवार १६:४४ मा प्रकाशित




























