काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) चयनका लागि औपचारिक प्रक्रिया सुरु गरेको छ । गत असार २२ गतेदेखि रिक्त रहेको उक्त शीर्ष पदपूर्तिका लागि अर्थ मन्त्रालयले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट आवेदन मागेको हो ।
मन्त्रालयद्वारा सहसचिव महेश आचार्यको संयोजकत्वमा गठित छनोट तथा सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र अर्थात् साउन २६ गते कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ।
उम्मेदवारी दिन के कति योग्यता तथा अनुभव चाहिन्छ त ?
नेप्सेको नेतृत्व सम्हाल्न चाहने उम्मेदवारले स्वीकृत शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी (सीए) सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ ।
साथै, पुँजी बजार, वित्तीय वा व्यवस्थापन क्षेत्रको व्यवस्थापकीय तहमा कम्तीमा ७ वर्षको अनुभवसहित कुल १५ वर्षको कार्यअनुभव अनिवार्य गरिएको छ । उम्मेदवारको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ ।
कस्तो उम्मेदवार अयोगकस्तो उम्मेदवार अयोग्य हुन्छ त ?
गैरनेपाली नागरिक, विदेशी मुलुकको एक प्रकारको स्थायी आवासीय अनुमति (पीआर) लिएका, वित्तीय कालोसूचीबाट फुकुवा भएको तीन वर्ष नपुगेका तथा नैतिक पतन देखिने फौजदारी कसुर वा भ्रष्टाचारमा सजाय पाएका व्यक्तिहरू यस पदका लागि अयोग्य ठहरिनेछन्।
के के चाहिन्छ त आवश्यक कागजात ?
इच्छुक आवेदकले स्वघोषणा फाराम, प्रमाणित शैक्षिक तथा अनुभवका प्रमाणपत्र, दुई प्रति फोटो, रु. ५ हजार दस्तुर बुझाएको सक्कल भौचर र तीन प्रति व्यावसायिक कार्ययोजना खामबन्दी गरी पेश गर्नुपर्नेछ । झुटा विवरण पेश गरेमा आवेदन रद्द गरी कानुनी कारबाहि गर्ने जनाएको छ ।
वि.सं.२०८३ साउन १२ मंगलवार ११:४१ मा प्रकाशित


























