काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने भएको छ । स्थानीय तह निर्वाचमा भएका घात, प्रतिघात र असहयोगबारे छानबिन गर्न गठित कार्यदलले घात गर्नेलाई पार्टीबाट निष्काशनसम्मको कारबाही गर्न सिफारिस गरेको हो ।
टंक राई नेतृत्वको कार्यदलले सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो छानबिन प्रतिवेदन बुझाएको छ । गत असार २५ मा स्थायी समिति बैठकले छानबिन गर्न राई नेतृत्वमा खिमलाल देवकोटा र मुक्ति प्रधान सदस्य रहेको छानबिन समिति गठन गरेको थियो ।
प्रतिवेदन बुझ्दै अध्यक्ष प्रचण्डले अनुशासन तोड्नेलाई कारबाही गरिनुको विकल्प नभएको बताए । उनले कम्युनिष्ट पार्टी कम्युनिष्ट पार्टीजस्तो बनाउन पनि कारबाही आवश्यक भएको बताए ।
“राम्रो गर्नेलाई प्रोत्साहित गर्ने, अराजकतातर्फ जाने, अनुशासन तोड्नेलाई कारबाही नगर्ने हो भने कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टीजस्तो रहँदैन”, प्रतिवेदन बुझ्दै अध्यक्ष प्रचण्डले भनेका छन्, “पार्टी निर्माण प्रक्रियालाई व्यवस्थित पार्ने, दोषीलाई कारबाही नगरेसम्म पार्टी निर्माण र समाजवादतर्फ जाने बाटो सम्भव छैन ।”
कार्यदलले घात गर्नेमाथि ‘निलम्बन, निष्काशन र चेतावनी’को सिफारिस गरेको अध्यक्ष प्रचण्डले जानकारी दिए । उनले माओवादीमात्रै नभई अन्य दललाई पनि विधिसम्मत चलाउन अन्तरघातीलाई कारबाही अनिवार्य भएको बताए ।
संयोजक राईले पार्टीलाई अनुशासित बनाउने गरी छानबिन प्रतिवेदन बुझाएको बताएका छन् । माओवादीले केन्द्रले देशभरका ५० स्थानीय तहमा पराजय व्यहोर्नुको कारण अन्तरघात भएको निष्कर्ष निकालेको छ । क–कसलाई कारबाही सिफारिस गरिएको भन्ने नबताइएको भएपनि सानादेखि ठूला नेतासम्मलाई कारबाहीको सिफारिस समितिले गरेको संयोजक राईले जनाए ।
वि.सं.२०७९ भदौ ६ सोमवार १७:०६ मा प्रकाशित






























