काठमाडौं । एनसेलका ग्राहकले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्छन् ।
एनसेल आजियाटा लिमिटेडले आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ तीन ब्राण्डका केही मोबाइल सेटबाट व्यावसायिक रुपमा सेवा दिन शुरु गरेको छ ।
भोल्टे सेवाको सफलता पुर्वक सफ्ट लन्च सम्पन्न गरी एनसेलले भदौ १६ गते बिहीबार देखि व्यावसायिक रुपमा भोल्टे सेवाको शुरुवात गरेको हो ।
हालको सुरुवाती चरणमा ग्राहकहरुले सामसङका ग्यालेक्सी ए ५१, ग्यालेक्सी ए ३३ र ग्यालेक्सी ए ५३, भिभोको वाई ५५, भी २३ र ह्वावेको नोभा ३ आई, वाई ९ प्राइम २०१९ मा यो भोल्टे सेवा सूचारु गरी यसको फाइदा लिन सक्छन् ।
एनसेलको फोरजी सिम अर्थात यूसिम भएका र माथि उल्लेख गरिएका मोबाइल सेट प्रयोग गर्ने ग्राहकहरुले एस्ट्रिक्स १७२०१ ह्यास डायल गरि एनसेल भोल्टे सेवा सुचारु गर्न सक्छन् । यो सेवा सुचारु गरेसँगै ग्राहकले एनसेल नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट भोल्टे टक टाइम बोनस स्वरुप प्राप्त गर्न योग्य हुन्छन् ।
प्राप्त बोनस भोल्टे टक टाइम २८ दिनको लागि मान्य रहन्छ । उल्लेखित मोबाइल सेटहरु प्रयोग गर्ने ग्राहकले मोबाइलको सफ्टवेयरको पछिल्लो संस्करण भने आफ्नो मोबाइलमा इन्स्टल गरेको हुनुपर्दछ ।
वि.सं.२०७९ भदौ २१ मंगलवार ०९:०६ मा प्रकाशित






























