काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू क्रान्तिकारीको एक कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीच भनाभन भएको छ । अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबीच पदाधिकारी चयनको विषयलाई लिएर भनाभन भएको हो ।
शर्माले कार्यक्रमकै बीच उपमहासचिव पद आफुँले स्वीकार नगर्ने बताएका छन् । उनले कार्यक्रममा आफुँ संगठन विभाग प्रमुखको रुपमा कार्यक्रमको उपस्थित भएको समेत बताए । कार्यक्रमलाई सम्बोधन गर्दै गर्दा उनले भनेका छन्, “म संगठन विभाग प्रमुखको हैसियतले सम्बोधन गरेको तपाईंहरुलाई जानकारी गराउन चाहन्छु ।”
उपमहासचिव पद अस्वीकार गरेका शर्माले नेतृत्व सही ढंगले चल्न नसकेको भन्दै प्रचण्डको आलोचना गरे । उनले नीति र नेतृत्व सही रुपमा चल्नुपर्ने आफ्नो माग रहेको पनि प्रचण्डलाई सम्झाए ।
“म नीति र नेतृत्वलाई सधैँ रक्षा गर्दैै आएको छु, मेरो दायित्व पनि हो, तर, नीति र नेतृत्व सही ढंगले अघि बढ्नुपर्छ भन्ने मेरो माग छ”, प्रचण्डलाई लक्षित गर्दै उनले भने ।
आफुँ लक्षित शर्माको अभिव्यक्ति प्रति प्रचण्डले पनि असन्तुष्टी जनाएका छन् । उनले पनि शर्मा लक्षित गर्दै अभिव्यक्ति दिएका छन् । “नेतृत्वको रक्षा गर्दै आएको” भन्ने शर्मालाई प्रचण्डले आफुँले पनि शर्मालाई “रक्षा गर्न र हुर्काउन” भूमिका खेलेको बताए ।
शर्मालाई जवाफ दिँदै प्रचण्डले भनेका छन्, “जनार्दनजीले जाँदा जाँदै भन्नुभयो नीति र नेतृत्वको रक्षाको कुरा । म तपाईंहरुलाई भन्न चाहान्छु –जनार्दनलाई रक्षा गर्न र हुर्काउन प्रचण्डको मुख्य भूमिका हो भन्ने कुरा पनि सवैले बुझ्न जरुरी छ ।”
संगठन विभाग प्रमुखसमेत रहेका नेता शर्मा महासचिवको दाबेदार थिए । तर, प्रचण्डले देव गुरुङलाई महासचिव बनाउँदै शर्मालाई उपमहासचिवमा चयन गरे । शर्मासँगै प्रचण्डले महासचिवमा दाबी गर्ने अन्य नेतालाई पनि उपमहासचिव बनाए । जसप्रति शर्माले असन्तुष्टि पोखेका हुन् ।
वि.सं.२०७९ भदौ २२ बुधवार १५:५० मा प्रकाशित






























