काठमाडौं । नबिल बैंक र युनिलिभर नेपालबीच सम्झौता भएको छ । बैंक र युनिलिभरबीच च्यानल फाइनान्सीङ सुविधाका लागि सम्झौता भएको हो ।
सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र युनिलिभर नेपाल लि.का तर्फबाट प्रबन्धक निर्देशक अमलान मुखरजीले भाद्र २० गते नबिलका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एस.एम.ई तथा लघुवित्तका प्रमुख निरज बस्नेत (डनिल) का साथै युनिलिभरका मुख्य वितरकहरुको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

उक्त सम्झौतासंगै युनिलिभर नेपालले आफ्ना तीन जना वितरकहरुलाई च्यानल फाइनान्सीङ सुविधाका लागि सिफारिस पत्र हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
बैंकका अनुसार युनिलिभर नेपालसँग आवद्ध व्यवसायीहरुले च्यानल पार्टनरको रुपमा थप व्यवसाय विस्तार गर्न चालु पँुजीमा लगानी गर्ने उद्देश्यका लागि आर्कषक ब्याजदर र धितो अनुपातमा नबिल बैंकका देशंैभरि फैलिएका शाखा सञ्जालहरुबाट च्यानल फाइनान्सीङ कर्जा उपभोग गर्न पाउने छन् । साथै, च्यानल फाइनान्सीङका प्रमुख आर्कषण अन्तर्गत च्यानल प्रिन्सिपलले आफ्ना वितरक, डिलर, रिटेलरहरुलाई सामान बिक्री गरेको बिल बराबरको पुरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुनेछ । व्यवसायीहरुको लागि व्यवसाय विस्तार गर्न अन्य एस.एम.ई. कर्जा पनि उपलब्ध हुने बैंकले जनाएको छ ।

युनिलिभर नेपालसँग सहकार्यका बारेमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंङ्गानाले बैंकसँग आबद्ध व्यवसायीहरुलाई चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि सरल र सहज तरिकाका साथ च्यानल फाइनान्सीङ सुविधाका साथै अन्य एस. एम. ई. कर्जाहरु पनि उपलब्ध गराउने जानकारी दिए ।
वि.सं.२०७९ भदौ २३ बिहीवार १४:१० मा प्रकाशित






























