काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्तारुढ गठबन्धन दलबीच सिटबाँडफाँटको टुंगो भोली लाग्ने बताइएको छ ।
नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले केही विषयमा सहमति नभएकोले भोली बस्ने बैठकले सबै टुंगो लगाउने जानकारी दिएका छन् ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्षनेताहरुको बैठकमा सिट बाँडफाँट कार्यदलले गरेका कामका बारेमा रिर्पोटिङ भएको र त्यसमा केही कुराहरु नमिलेको बताउँदै नेता खनालले भने–भोली दिउँसो ३ बजे बस्ने बैठकले सबै टुंगो लगाउने निर्णय गरेका छौं ।
प्रदेश र संघको निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका शिर्षनेताहरुले सिट बाँडफाँटको विषयमा भने टुंगो लगाउन सकेको छैन ।
गठबन्धन दलको गत साउन २० गते बसेको बैठकले सिट बाँडफाँटको टुंगो लगाउन नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदललाई साउन अन्तिमसम्म सिट बाडफाँटको टुंगो लगाउने जिम्मेवारी दिइएपनि कार्यदलले टुंगो लगाउन नसकेपछि शिर्ष नेताहरुलाई नै जिम्मा दिइएको थियो ।
वि.सं.२०७९ भदौ २६ आइतवार १३:५९ मा प्रकाशित






























