काठमाडौं । आगामी असोज ६ गते देखि ९ गतेसम्म भृकुटी मण्डपमा हुने नाडा इभि एक्सपो २०२२ मा ५१ वटा स्टल रहने भएका छन् । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा आयोजना हुन लागेको एक्सपोमा साना र ठूला गरी ५१ वटा स्टल तथा ब्लक रहने नाडाले जनाएको हो ।
नाडाका अनुसार एक्स्पोमा ७ वटा ब्राण्ड चार पांग्रे, एउटा तीन पांग्रे, १६ वटा ब्राण्डका दुई पांग्रे, ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याट्री, ९ वटा पार्ट-पुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तिय संस्थाहरुको सहभागिता रहने छ ।
नेपाली महान चाड-पर्वहरुको पूर्वार्धमा आयोजना हुन गइरहेको यस एक्स्पोले नेपालमा विद्युतीय सवारी साधनबारे अत्याधिक जनचेतना अभिवृद्धि गर्न एवं सम्बिन्धित सम्पूर्ण अटो व्यवसायीहरुको समस्टिगत प्रवर्धनमा प्रत्यक्ष तथा सकारात्मक प्रभाव पार्ने आयोजकले जनाएको छ ।
त्यसैगरी वर्तमान समयमा विद्युतिय सवारी साधनहरुको महत्व दिन प्रतिदिन बढ्दै गएको र यस्ता सवारी साधनहरुको बढदो प्रयोगले आफनै मुलुकमा उत्पादित जल विद्युतको उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउन समेत सहयोग पुग्ने विश्वास आयोजकको रहेको छ ।
नाडाका अनुसार एक्स्पोलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन वित्तिय सेवा, विकिपछिका सेवा एवं इन्सुरेन्सका खुट्टाछट्टै स्टलहरु रहने छन् ।
वि.सं.२०७९ भदौ २७ सोमवार १५:४३ मा प्रकाशित






























