काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले संविधानको घोर उल्लंघन गरेको बताएका छन् ।
नागरिकता विधेयक प्रमाणीकरण नगरेकोमा विरोध भइरहेको बेला पुनले भण्डारीको कदम निर्वाचन बिथाल्ने षडयन्त्रमा आएको पनि बताए । उनले भण्डारीको कदमलाई अमानवीय कार्य भएको पनि टिप्पणी गरेका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, “सार्वभौम जनताको प्रतिनिधिसंस्था संघीय संसद्ले नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी पास गरेको नागरिकता विधेयक प्रमाणित नगर्नु एकातिर संविधानको घोर उल्लंघन हो भने अर्कोतिर आफ्ना नागरिकलाई राज्यविहीन बनाउने आमनवीय कार्य हो । सचेत रहौं र संयमित बनौं । यो घटनाक्रम निर्वाचन बिथोल्ने षड्यन्त्रको अंग पनि हो ।”
आज मात्रै राष्ट्रपतिको कदमबारे सत्ता गठबन्धनको बैठक बसेको थियो । गठबन्धनले भण्डारीको कदमप्रति विरोध जनाएको छ । गठबन्धनले संयुक्तरुपमा वक्तव्य जारी गर्ने तयारी पनि गरेको छ ।
वि.सं.२०७९ असोज ५ बुधवार १२:२५ मा प्रकाशित






























