बुटवल । बुटवल उपमहानगरपालिकाले किसानलाई मागमा आधारित प्रोत्साहन अनुदान दिने निर्णय गरेको छ । उपमहानगरपालिकाले ५२ किसानलाई मागमा आधारित प्रोत्साहन अनुदान दिने निर्णय गरेको हो ।
स्थानीय कृषि व्यवसाय प्रवद्र्धन समितिका अध्यक्षसमेत रहनुभएका नगरप्रमुख खेलराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले माग भएर आएका ५२ जनाकै माग स्वीकृत गरेको हो । उपमहानगरका वडा नं ११ देखि १९ सम्मका किसानका लागि लक्षित गरी आह्वान गरिएको माग, योजना र प्रस्ताव हेरेर अनुगमनका आधारमा किसानलाई अनुदान दिने निर्णय गरिएको नगरप्रमुख पाण्डेयले बताए । उनले ती वडामा खेती किसानी गर्ने किसान, फर्म र संस्थाले पेस गरेको मागअनुसार रु १० हजारदेखि रु एक लाख २० हजारसम्मको अनुदान दिने निर्णय गरिएको बताए ।
निर्णयानुसार एक महिनाभित्रमा किसान, फर्म र संस्थालाई सम्झौताका लागि आह्वान गर्ने र कार्यक्रम सम्पन्न भएपछि वडाको सिफारिसका आधारमा अनुदान रकम उपलब्ध गराइने कृषि विकास शाखाप्रमुख सन्तोष जिसीले जानकारी दिए ।
किसान तथा फर्म र संस्थाले तरकारी, केरा, फुल, लसुन, कुरिलो, बेसार, तोरी, मौरीपालन, कन्ये च्याउ, ड्रागन फलफूल, मकैलगायतका खेती गर्नका लागि योजना तथा प्रस्ताव पेश गरेको कृषि विकास शाखाप्रमुख जिसीले बताए ।रासस
वि.सं.२०७९ असोज १४ शुक्रवार १५:१२ मा प्रकाशित






























