भुवन सिवाकोटी ‘चौघरे’,काठमाडौ
दशैं दशैं भन्दा भन्दै
आयो
रमायो
कतिलाई रुहायो गयो
ऋणको भारी बोकाएर
नयाँ लुगा
मिठो खाना
राम्रो छाना भन्दाभन्दै
अब तिहार भन्दैथे
थोरै भएपनि जोहो गर्नु थ्यो
पर्व नै हो दशैं जस्तै
देउसे भैलीलाई दान दक्षिणा
दिदीबैनी
दाजुभाईलाई उपहार भन्दा भन्दै
तिहार पनि आयो गयो
फेरि
थप ऋणको भारी बोकाएर
मानो दिदा मुरी फल्छ भन्थे
मुरी दिदा सुनको धुरी हुन्छ भन्थे
तर जीवनका यति धेरै बितेका बसन्तमा
कयौं पटक दान दिइयो
कयौं पटक दक्षिणा दिइयो
आशा राखिएन र भगवानले सुनेन
आशिषहरु पुरा भएनन्
आउने वर्ष पनि
यसरी नै आउने छ जानेछ
दशैं तिहार
उस्तैगरि भरिनेछन निधार
रित्तो नै रहने छ गोजी
हातगोडा चल्न छोडेपछि
आँगनको पर्खालमा बसेर
परपरको बाटोमा देखिने छायाँमा
झझल्को संझिएर
उस्तै बोलिमा तिम्रो झैं आवाज ठोकिएर
मैले
फेरी पर्खनु पर्ने छ पर्वहरु
नविकरण गर्न तितो सम्बन्धलाई ..।
म
जीवनको झर्दा खुड्किलामा टेकेर
फेरी जोहो गर्नेछु कमाइ
थाहा छ
दान दक्षिणा दिन र आवश्यकता पुर्याउन
साँघुरो कमाईले
अथाह अभाव पुरा गर्नु छ
रमाउनु छ
तातो– चिसो झोल र पानीमा
तासका पत्तामा
क्यासिनोका मेशिनहरुमा
समयको हिडने बाटो
उही हुनेछ
पिउने पानी र हावा
उस्तै हुनेछ
हरेक वर्षको गरीबि निरन्तरतामा
जसरी फेरीने छैन
मेरो झुपडीमा सुनको छानो
आउने छैनन मेरो अँधेरोमा घरमा लक्ष्मी
मात्रै मेरो आयु पुरानो हुनेछ
एक वर्ष
आउने वर्षहरुमा पनि
पर्व भन्दै फर्किनेछन मेरा बचेराहरु
भुरूरू उडेर
केहि पलको बिश्राम गर्नेछन
कयौं दिन देखिको सुनसान मझेरी भरिने छ
हल्ला खल्लामा
जसै उनीहरु भुरूरू उडेर जानेछन
दशैं जानेछ
दिदी बैनी जानेछिन
दाजु भाई जानेछन्
तिहार पनि जानेछ
हातगोडा चल्न छोडेपछि
आँगनको पर्खालमा बसेर
परपरको बाटोमा देखिने छायाँमा
झझल्को संझिएर
उस्तै बोलिमा तिम्रो झैं आवाज ठोकिएर
मैले
फेरी पर्खनु पर्ने छ पर्वहरु
नविकरण गर्न तितो सम्बन्धलाई ..।
वि.सं.२०७९ असोज २९ शनिवार ०८:३१ मा प्रकाशित