Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

चुनावी लेखाजोखा : कांग्रेसका शीर्ष नेता को–कति सुरक्षित ?



काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका सीमित शीर्ष नेता मात्रै विजयी भएका थिए । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा, तत्कालिन महामन्त्री डा. शंशाक कोइराला, उपसभापति विजयकुमार गच्छदार, पूर्वमहामन्त्री प्रकाशमान सिंह र अहिलेका महामन्त्री गगन कुमार थापाबाहेक सबैजसो शीर्ष नेता पराजित भएका थिए ।

तत्कालिन समय बाम गठबन्धनको कारण कांग्रेसलाई निकै ठूलो धक्का लागेको थियो । कांग्रेसका २३ उम्मेदवार मात्रै प्रत्यक्षबाट संसद छिर्न सफल भएका थिए । कांग्रेसका २३ उम्मेदवार संसद छिर्दा एमालेका ८० र माओवादी केन्द्रका ३६ सांसदले प्रत्यक्षतर्फ जित हात पारेका थिए ।

तर, अहिले समीकरण पुरै बदलिएको छ । कांग्रेसका लागि प्रतिकुल बनेको बाम एकता वा गठबन्धनको अवस्था छैन । स्थानीय चुनावको आधारमा कांग्रेस सबैभन्दा बलियो शक्तिको रुपमा उदाएको छ । बलियो शक्तिको रुपमा देखिएको कांग्रेसलाई सत्ता गठबन्धनबीचको चुनावी तालमेल थप बलशाली बन्ने अवसर मिलेको छ । बाम शक्तिहरु विभाजित हुँदा आफैंमा बलियो बनेको कांग्रेस गठबन्धनको निर्माणसँगै थप बलियो बनेको छ । जुन आगामी चुनावका निम्ति निकै फाइदाकर देखिन्छ ।

पाँच दलीय गठबन्धनबीच तालमेल भएसँगै कांग्रेसले १६५ मध्ये ९१ सिटमा उम्मेदवारी दिएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणामलाई हेर्दा ७५ सिटमा कांग्रेस अगाडि छ । गठबन्धनको कारण अधिकांश शीर्ष नेतालाई केही सहज देखिएकाे छ ।

देउवा पुर्णं सुरक्षित

डडेल्धुरामा कांग्रेस सभापति देउवा र कांग्रेस (बीपी)का कर्णबहादुर मल्लबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । डडेल्धुरामा स्थानीय तहमा पाएको मतलाई हेर्दा कांग्रेस अन्य शक्तिभन्दा निकै बलियो छ । स्थानीय तहमा पाएको मतलाई हेर्दा, कांग्रेसले २१ हजार ७३५, माओवादीले १२ हजार ८७८, एमालेले १० हजार ४४९, एकीकृत समाजवादीले ५ हजार ४१, कांग्रेस (बीपी)ले ३ हजार ५४२, राप्रपाले ७१४ र जसपाले १५६ मत पाएका छन् । कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको मत जोड्दा ३९ हजार ६५४ हुन आउँछ । यहाँ एमाले र नेपाली कांग्रेस (बीपी)को मत एक ठाउँमा राख्दा पनि देउवा २५ हजारभन्दा बढी मतले अघि देखिन्छन् । जसका आधारमा देउवा निकै सुरक्षित देखिन्छन् ।

पौडेललाई सहज

तनहुँ १ मा यसपटक पनि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार बनेका छन् । जहाँ उनीसँग एमालेका एकबहादुर राना चुनावी मैदानमा छन् । तनहुँ १ मा पौडेलको प्रतिस्पर्धा एमालेका रानाभन्दा कांग्रेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसँग हुने देखिन्छ । तथापी, स्थानीय तहमा पाएको मतलाई हेर्दा पौडेल निकै बलिया छन् ।

स्थानीय तहमा दलहरुले पाएको मतलाई कांग्रेस अन्य दलभन्दा निकै बलियो छ । यहाँ कांग्रेस एक्लै र अन्य शक्ति एकजुट हुँदा पनि कांग्रेसको पक्षमा मत बढी देखिन्छ । स्थानीय तहमा कांग्रेसले ३३ हजार १०६, एमालेले २२ हजार २१०, माओवादीले ८ हजार ४७४, राप्रपाले एक हजार ७७५ र नेकपा एकीकृत समाजवादीको ८९२ मत पाएका थिए । गठबन्धन एकातिर र अन्य शक्ति अर्कोतिर हुँदा पौडेल थप बलशाली देखिएका छन् । स्थानीय तहको मतलाई हेर्दा, पौडेललाई चुनाव जित्न सहज छ ।

पूर्णंबहादुरलाई गठबन्धनकै भर

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सुर्खेत–१ बाट चुनाव लड्दैछन् । जहाँ उनी र एमालेका उम्मेदवार ध्रुवकुमार शाहीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । २०७४ मा शाही र खड्काबीच नै प्रतिस्पर्धा भएको थियो । तत्कालिन चुनावमा खड्कालाई शाहीले करिब ३ हजार मतले हराएका थिए । तर, अहिले सुर्खेत–१ को समिकरण पुरै फेरिएको छ । एकातिर कांग्रेस बलियो शक्तिको रुपमा उदाएको छ भने अर्कोतिर कांग्रेसलाई गठबन्धनको साथ छ ।

सुर्खेत १ मा स्थानीय तहको निर्वाचनमा कांग्रेसले ३६ हजार ९२८, एमालेले ३४ हजार ८४३, माओवादी केन्द्रले ५ हजार ७५, राप्रपाले ६६४ र एकीकृत समाजवादीले ६३४ मत ल्याएका थिए । जसलाई हेर्दा, गठबन्धनको साथ पाएका खड्का ७ हजार बढी मतले अगाडि छन् । तथापी, गठबन्धनको साथ नपाए उनलाई सकस पर्ने देखिन्छ ।

गुरुङलाई छैन सहज

कांग्रेसका उपसभापति धनराज गुरुङ स्याङ्जा–२ बाट चुनावी मैदानमा छन् । गुरुङ उठेको क्षेत्रमा एमालेकी सचिव पद्मा अर्याल प्रतिस्पर्धामा छिन् । स्याङ्जा–२ मा स्थानीय तहमा आएको मतपरिणामका आधारमा धनराजलाई चुनाव जित्न केही सहज देखिन्छन् । स्थानीय तहको चुनावमा कांग्रेसले ३६ हजार ८०६, एमालेले ३४ हजार ८०९, माओवादी केन्द्रले एक हजार २४३, राप्रपाले ५११ र एकीकृत समाजवादीले २३३ मत पाएका थिए । यो तथ्यांकले अर्यालभन्दा गुरुङ ३ हजार ४५३ मतले अगाडि छन् ।

तर, पटक–पटक मन्त्री भइसकेकी र राष्ट्रिय राजनीतिमा समेत आफुलाई स्थापित गरेकी अर्याल सामान्य उम्मेदवार होइनन् । गुरुङ एकातिर स्याङ्जा–२ का स्थानीय होइनन् भने अर्कोतिर गठबन्धनका अन्य दल बलिया छैनन् । कांग्रेसको मात्रै मतका आधारमा लड्नुपर्ने भएका कारण उनलाई सहज देखिन्न ।

सकसमा गगन

कांग्रेसका महामन्त्री गगन थापा यसअघि जस्तै यसपटक पनि काठमाडौं–४ बाट उम्मेदवार बनेका छन् । उनीसँग एमालेका बलिया उम्मेदवार राजन भट्टराई चुनावी मैदानमा छन् । स्थानीय तहमा पाएको मतलाई हेर्दा, काठमाडौं–४ मा एमाले पहिलो र बलियो शक्तिको रुपमा देखिन्छ । यहाँ एमालेले १६ हजार ५०७, कांग्रेसले १५ हजार ७६४, नेकपा एसले २ हजार ४१४, राप्रपाले २ हजार २९३, माओवादी केन्द्रले ८४४ र जसपाले ३१७ मत पाएका छन् ।

काठमाडौं–४ मा एकातिर स्थानीय तहमा दलहरुले पाएको मतलाई हेर्दा कांग्रेस दोस्रो पोजिसनमा छ भने अर्कोतर्फ यस निर्वाचनमा क्षेत्रमा गठबन्धनका अन्य दल बलिया छैनन् । तथापी पात्रको हिसाबले पनि मतदाताले मत दिने हुनाले निकै लोकप्रिय बनेका थापाले जित्ने सम्भावना पनि उत्तिकै छ । २०७४ को निर्वाचनमा थापाले बाम गठबन्धन हुँदा हुँदै पनि एमालेका उम्मेदवार भट्टराईलाई हराएका थिए ।

निकै कमजोर छन् शर्मा

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा यसपटक पनि झापा–१ बाट चुनावी मैदानमा छन् । २०७० को संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा हारेका शर्मा यसपटक जित्ने आशमा मैदानमा उत्रिएका छन् । उनीसँग एमालेका नेता अग्निप्रसाद खरेल चुनावी प्रतिस्पर्धा छन् ।

स्थानीय तहमा पाएको मतलाई हेर्दा, झापा १ एमालेको लागि निकै अनुकुल क्षेत्र हो । जहाँ कांग्रेसभन्दा एमाले धेरै बलियो छ । यहाँ एमालेको ३१ हजार २३२, कांग्रेसको २४ हजार ५९, राप्रपाको ५ हजार ९२२, माओवादीको ३ हजार ९०५, नेकपा एकीकृत समाजवादीको एक हजार २५२ र लोसपाको १६२ मत छ । जसका आधारमा ७ हजार ७७६ मतले खरेलभन्दा शर्मा पछाडि देखिन्छन् । राप्रपा र एमालेबीच तालमेल भएको कारण पनि शर्मालाई चुनाव जित्न सहज छैन ।

शेखरलाई केही सहज

कांग्रेसको एउटा खेमाको नेतृत्वकर्ता शेखर कोइरा मोरङ–६ बाट चुनावी मैदानमा छन् । यसपटक पनि उनीसँगै २०७४ कै प्रतिस्पर्धी एमाले नेता लालबाबु पण्डीत चुनावी मैदानमा छन् । २०७४ को निर्वाचनमा कोइराला केही झिनो मतले पण्डितसँग हारेका थिए ।

यसपटक स्थानीय तहमा पाएको मतलाई हेर्दा मोरङ–६ मा कांग्रेस केही बलियो शक्तिको रुपमा देखिएको छ । स्थानीय तहमा कांग्रेसको २७ हजार ८६, एमालेको २४ हजार ५५६, माओवादीको ४ हजार ९९६, जसपाको ३ हजार ९३९, राप्रपाको ३ हजार ११५, नेकपा एकीकृत समाजवादीको २ हजार ३५५ र लोसपाको ८९५ मत देखिन्छ । गठबन्धन बनेको कारण कोइरालालाई जित्न केही सहज मानिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार