Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

एजेण्डाबिहीन चुनाव : आरोप–प्रत्यारोप र आश्वासनको खेति गर्दै नेतृत्व



काठमाडौं । शुक्रबार बुटवलमा भएको सत्ता गठबन्धनको चुनाव केन्द्रीत प्रशिक्षण कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले जिते देशै छोडेर हिँड्नुपर्ने टिप्पणी गरे । उनले ओली नेतृत्वमा पुग्नु देशको निम्ति निकै दुर्भाग्य भएको बताए । “केपी ओली सुध्रनेवाला छैनन्”, अध्यक्ष नेपालले भने, “यदि ओलीले जिते भने देश छाड्नुपर्ने हुन सक्छ, अब पनि उनले शक्ति पाए ठूलो क्षति हुनसक्छ ।” अध्यक्ष नेपालले एमाले अध्यक्ष ओली निकै भ्रष्ट मात्रै नभई हिटलर नै भएको समेत आरोप लगाएका थिए ।

यता, ओलीले पनि सत्ता गठबन्धन र गठबन्धनका नेतालाई भन्न केही बाँकी राखेका छैनन् । ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै ओलीले गठबन्धनका नेताहरुले देशै “अंश अंश गरेर बेचेको” आरोप लगाएका थिए । उनले सत्ता गठबन्धन र तीन नेता निकै भ्रष्ट र राष्ट्रघाती भएको आरोप लगाएका थिए ।

“सत्ता स्वार्थका लागि यिनीहरू देश पनि बेच्न तयार हुन्छन्, सिंगै देश ढ्वाक्कै लगेर भन्टा, टमाटर, सिमी बेचेजस्तो तराजुमा लगेर बेच्न नसक्लान् तर, अंश अंश गरेर देश बेच्छन्”, उनले भने, “अलिकति हिस्सा बेच्छन्, अलिकति अंश बेच्छन्, अलिकति हित बेच्छन्, अलिकति तल पार्छन्। स्वाधीनता बेच्छन्, स्वाभिमान बेच्छन्। सार्वभौमसत्ता बेच्छन्। अंश अंश गरेर बेच्छन्।”

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि एमाले अध्यक्ष ओलीप्रति निरन्तर तिखा वाणी हानीरहेका छन् । उनले ओली ‘प्रतिगामी मात्रै नभई राष्ट्रघाती भएको समेत आरोप लगाएका छन् ।

“प्रतिगमनकारी शक्तिहरू बलिया हुँदा परिवर्तन र मुलुक दुवै खतरामा पर्छ, गठबन्धनले ट्र्याकमा ल्याएको देश फेरि भड्खालोमा हाल्ने कोसिस हुँदै छ”, ओलीलाई लक्षित गर्दै विराटनगरको कार्यक्रममा प्रचण्डले भनेका छन्, “राष्ट्रघाती, प्रतिगामी तत्वलाई चुनावबाट किनारा लगाउनै पर्छ ।”

अहिले चुनावी कार्यक्रममा प्रायः नेताहरुको भाषण एक अर्काको उछितो काढ्नेमा केन्द्रीत छ । शीर्ष नेतासँगै तल्लो तहका नेताहरु पनि एक अर्कालाई निकै असभ्य ढंगले गाली गरिरहेका छन् । बिडम्बनाको कुरा नेताहरुले योजनाभन्दा पनि गाली गलौजको वर्षा गराईरहेका छन् ।

जनतालाई लोभ्याउँदै, भ्रमित पार्दै

चुनावी प्रचार सुरु भइरहेका बेला सबैभन्दा बढी प्रधानमन्त्री पत्नी आरजु राणा र एसका अध्यक्ष नेपालको अभिव्यक्तिलाई लिएर चर्चा भइरहेको छ । राणा र नेपालले मतदातालाई लोभ्याउन आफुलाई मतदान गरे वैदेशिक रोजगारीमा जाँदा “फ्रि भिषा, फ्रि टिकट”को व्यवस्था गरिदिने आश्वासन गरेका थिए ।

स्थानीय चुनावमा मलेसिया कांग्रेसलाई मत दिनेलाई मलेसिया पठाउँछु भन्ने राणाले संघीय चुनावको प्रचारमा पनि “फ्रि भिषा, फ्रि टिकट”को व्यवस्था गरिदिने आश्वासन डडेल्धुराबासीलाई दिएकी थिइन् । राणाले प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी दर्ता गराएपछि स्थानीय युवाहरुसँगको भेटघाटमा यस्तो आश्वासन दिएकी थिइन् । “रोजगारीमा अस्ति पनि ४ सयभन्दा बढी फ्रि भिसा, फ्रि टिकटमा पठायौं, यस्तो स्किम यहाँ फेरि पनि कसरी ल्याउने भन्ने काम गर्छौं ?”, उनले भनेकी थिइन् ।

एसका अध्यक्ष नेपालले पनि रौतहटको एक चुनावी कार्यक्रममा बजिया भाषामा आफुले चुनाव जिते देश भित्र र बाहिरका युवालाई रोजगारीको अवसर दिने आश्वासन मात्र बाँडेनन् उनले भनेका थिए, ‘फ्रि का मतलब बिना ढेउवा के । बिना ढेउवाको भिसा मिल्ते हे, टिकट मिल्ते हे, काठमाडौंमे तालिम मिल्ते हे ।’ अहिले उनको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

राणा र एसका अध्यक्षमात्रै होइन अन्य उम्मेदवारले पनि जनतालाई भ्रमित पार्ने र लोभ्याउने कुरा गरिरहेका छन् । कतिपयले सम्भव नै नभएका पनि कतिपय योजना देखाएका छन् ।

सडक सञ्जाल राम्रो नभएको स्याङ्जामा कांग्रेसका उपसभापतिसमेत रहेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार धनराज गुरुङले वालिङ–चापाकोट सुरुङ मार्ग बनाईदिने आश्वासन दिए । उनले यसअघि असम्भव भनि फिर्ता भएको आँधिखोला हाई ड्यामदेखि विभिन्न आश्वासन बाँडेका छन् ।

उनीजस्तै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोाखरेलले पनि काठमाडौं–५ का बासीलाई नहुने आश्वासन बाँडेका छन् । पोखरेलले आगामी निर्वाचन जिते चीनबाट सहयोग ल्याएर धोबीखोला करिडोर, विष्णुमति करिडो, विभिन्न सडकलाई डाइर्भसन गर्ने, विभिन्न सडकलाई फराकिलो बनाउने लगायतका आश्वासन बाँडेका छन् । बिडम्बनाको कुरा, चीनले कसरी सहयोग गर्ने र उनले कसरी योजना कार्यान्वयन गर्ने अन्योल छ ।

चुनाव हुँदै नहुने योजना मात्रै होइन सरकारले दिने सामाजिक सुरक्षा भत्तालाई समेत कतिपयले आफ्नो एजेण्डा बनाएका छन् । कतिपयले संघीय सदस्यका उम्मेदवारले वडाध्यक्ष तहका उम्मेदवारले राख्ने योजना पेश गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार