काठमाडाैं । ललितपुर ३ की माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल अहिले घरदैलोमा छिन् । ०७४ को चुनावमा वाम गठबन्धनबाट उम्मेदवार भई कांग्रेस उम्मेदवार मदन अमात्यलाई पराजित गरेकी भुसाललाई यसपटक कांग्रेसकै साथ र समर्थन छ ।
गठबन्धनको भोट संख्या निकै धेरै भएकोले भुसाल यो क्षेत्रमा सबैभन्दा सुरक्षित छन् । लामो समय ललितपुुरमा बसेर राजनीतिक गर्दै आएकी भुसालले यस क्षेत्रको विकास तथा पूर्वाधार निर्माणमा पनि महत्वपूर्ण भूमिका खेलेकी छन् । ललितपुरको सम्पदा संरक्षण, पाटीपौवा निर्माण तथा नेवार समुदायका मौलिक परम्परा जोगाउन भुसालले सहयोग गर्दै आएकी छन् । भुसाल चार पटकसम्म मन्त्री र दुईपटक सांसद बनिसकेकी छन् ।
यसपटकको चुनावमा भुसालसँग एमाले अमृत खड्का चुनावी मैदानमा छन् । उनी सैंवु गाविसका पूर्वअध्यक्ष पनि हुन् । व्यापारिक पृष्ठभूमिका खड्का एमालेको जिल्ला कमिटीमा बसेर काम गरेका छन् । तत्कालीन सैंबु गाविस अध्यक्ष बनेपछि केही समय व्यवसाय र समाजसेवामा बिताएका खड्काको यो पहिलो उम्मेदवार अनुभव हो । उनी यसपालि मात्रै प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका हुन् ।
ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकाे तर्फबाट डा. तोसिमा कार्की पनि चुनावी मैदानमा छिन् । पेसाले चिकित्सक उनी राजनीतिमा नयाँ हुन् । तथापी, कार्कीकाे चर्चा निकै भइरहेकाे छ ।
गठबन्धन हुँदा भुसाललाई सहज
ललितपुर–३ को धेरै भूभाग सहरी, थोरै भूभाग ग्रामीण भेगमा पर्छ । ललितपुर महानगरपालिका– १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २० २१, २२, २३, २४, २५, २६, २७, २८, २९ र गोदावरी नगरपालिकाका १२ र १४ गरी २२ वटा वडाहरू पर्छन् । यहाँँ मतदाता संख्या ९४ हजार ११६ छ ।
स्थानीय तह निर्वाचनमा हेर्ने हो भने क्षेत्र ३ मा गठबन्धन नै बलियो छ । गएको स्थानीय निर्वाचनमा ललितपुर महानगरको ४, १०, १४, २०, २८ को वडा कांग्रेस विजयी भएको छ । महानगरको २१, २६ र २७ वडा माओवादी केन्द्र विजयी भएको छ भने २ र ३ वडा एकीकृत समाजवादीले हात पारेको थियो । त्यस्तै महानगरको १ र १३ मा स्वतन्त्रले जितेका थिए । ५, १५, १८, २२, २३, २४, २५, २९ मा एमालेले चुनाव जितेको छ ।
ललितपुरमा गठबन्धनका दलमध्ये कांग्रेस सबैभन्दा बलियो छ। त्यसपछि माओवादी केन्द्र छ। अनि नेकपा एकीकृत समाजवादी छ। यी तीनै दल एकै ठाउँमा भएकाले पनि भुसाल बलियो अवस्थामा छिन्।
स्थानीय तहमा वडाध्यक्षहरुले पाएको मत हेर्दा गठबन्धनकाे ३३ हजार मत छ। अर्कोतिर, एमालेको झण्डै २० हजार मत छ। राप्रपाको ४ हजार मत छ। यस्तै स्वतन्त्रले ३ हजार पाँच सय मत पाएका थिए।
वि.सं.२०७९ कात्तिक २४ बिहीवार १६:३३ मा प्रकाशित






























