काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको बेलामा शेरबहादुर देउवालाई शेखर कोइराला र गगन थापा मिलेर चुनौति दिएका थिए । महाधिवेशनको बेला रामचन्द्र पौडेल, प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलालगायतको साथ नदिएको भए देउवा सभापति हुने कुरा सम्भव थिएन । तर, मुख्य नेताहरु नै देउवाको पक्षमा उभिँदा पनि शेखर र गगनले बलियो चुनौति दिए । चुनावबाट अत्याधिक मत ल्याएर गगन त विजयी भए तर, शेखर भने देउवासँग हारे ।
महाधिवेशनको बेलामा बलियो गरी देखिएको शेखर–गगन गठजोड स्थानीय चुनाव हुँदै आम निर्वाचनको बेलामा समेत प्रकट भएको थियो । शेखर–गगन समूहले प्रतिशत नै छुट्टाएर नेतृत्वसँग सिट मागेको थियो । चुनावकै बेला शेखर–गगन समूहको मिजासिलो तर कडा खालको शैलीका कारण सत्ता गठबन्धन नै टुट्टे हो कि भन्ने समेत देखिएको थियो ।
महाधिवेशनदेखि निरन्तर देउवालाई चुनौति बन्दै आएको शेखर–गगन समूह आम चुनावपछि भने विभाजित बनेको छ । समूहमा आगामी संसदीय दलको नेता को बन्ने ? भन्ने विषयमा विवाद हुँदा विभाजित बनेको हो । कांग्रेसको आगामी संसदीय दलको नेतामा स्वयम् देउवा उठ्ने तयारी गरिरहेका बेला शेखर र गगन भने आ–आफ्नै तरिकाबाट प्रतिस्पर्धामा आउन खोजेका छन् । महाधिवेशनमा मिलेर प्रतिस्पर्धामा उत्रिका दुई नेता अहिले विभाजित देखिएका छन् ।
चुनावमै प्रधानमन्त्रीको दाबेदारी प्रस्तुत गरेका गगनलाई अहिले उनकै सहकर्मी शेखरले चुनौति दिएका छन् । शेखर गगनलाई संसदीय दलको नेता बन्न सहयोग नगर्ने मुडमा देखिन्छन् । शेखर आफुँ नउठेपनि गगनलाई सहयोग नगर्ने ढंगबाट प्रस्तुत भएका छन् । शेखर स्वयम्ले औपचारिक रुपमा आफैं उठ्ने बताएका छैनन् । तर, उनको शैली गगनलाई सहयोग नगर्ने ढंगबाट आएको छ ।
संस्थापन इतर समूहका एक नेताले बताएअनुसार मीनेन्द्र रिजालको छलफल पछि शेखर गगनको पक्षमा उभिन तयार नभएका हुन् । “पहिला गगनजीलाई सहयोग गर्नुपर्छ भन्नुहुन्थ्यो शेखर जी तर, मीनेन्द्रसँगको भेटपछि उहाँले कुरा फेर्न थाल्नुभयो”, उनले भनेका छन्, “उहाँहरु मिलेर अन्य हिसाब गरेजस्तो छ ।”
१४ औं महाधिवेशनको संघारमा सभापतिका दाबेदार मानिएका बिमलेन्द्र निधि र प्रकाशमान सिंहले गरेजस्तै सम्झौता संसदीय दलको निर्वाचनमा शेखर कोइरालासँग देउवाले गर्न सक्ने ती नेताको दाबी छ । यदि त्यस्तो भएमा कांग्रेसमा शेखर समूह नै संस्थापनसँग मिसिने अवस्था आउने र थापा समूह मात्रै बाँकी रहने अवस्था आउन सक्छ ।
वि.सं.२०७९ पुस १ शुक्रवार १७:३५ मा प्रकाशित






























