काठमाडौं । प्रख्यात फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि क्यान्सरको उपचार गराइरहेका ब्राजिलका फुटवलर पेलेको साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनकी छोरी केली न्यासिमेन्टोले इन्स्टाग्रामार्फत् जानकारी दिएकी छन् ।
केलीले इन्स्टाग्राममा भनेकी छन्, ‘हामी अहिले जे छौँ, त्यो सबै तपाईंको कारण सम्भव भएको हो । हामी तपाईंलाई धेरै माया गर्छौँ । हार्दिक श्रद्धाञ्जली !’
१७ वर्षको उमेरदेखि अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका पेलेले सन् १९५८ देखि १९७० को बीचमा चारपटक विश्वकप प्रतियोगितामा खेलेका उनले १९५८, १९६२ र १९७० मा विश्वकप जितेका थिए ।
पेलेले आफ्नो खेल जीवनमा ४ विश्वकप प्रतियोगितासहित १३ सय ६३ खेलमा १२ सय ८१ गोल गरेका छन् ।
सन् २००० मा फिफाले पेलेलाई दशकको खेलाडी घोषणा गरेको थियो भने उनको देश ब्राजिलले उनलाई राष्ट्रिय सम्पत्तिका रुपमा घोषणा गरेको थियो ।
ब्राजिल सरकारले पेलेको निधनमा तीनदिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।
वि.सं.२०७९ पुस १५ शुक्रवार ०८:०५ मा प्रकाशित






























