काठमाडौं । सत्ता गुमाएको कांग्रेसमा एक समूहले अर्को समूहको उछितो काढ्ने दोहोरी चलेको छ । संस्थापनले गगन–शेखर समूहको उछितो काढ्दै गर्दा गगन–शेखर समूह संस्थापनविरुद्ध खनिएको छ । जुन आरोप–प्रत्यारोप सार्वजनिकरूपमै पनि प्रकट भइरहेका छन् ।
पछिल्लो समय कुन चोखिने भन्ने खेल पनि कांग्रेसमा चलेको छ । सभापति शेरबहादुर देउवालाई असक्षम घोषित गर्दै नेतृत्वबाट हटाउनेसम्मका योजना संस्थापन इतरमा देखिएका छन् ।
यस्तै आरोप–प्रत्यारोप बुधबार कांग्रेस पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पनि देखियो । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले गगन र विश्वप्रकाशप्रति कार्यक्रमबाटै आक्रोश पोखे ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति इंगित गर्दै प्रवक्ता महतले सत्ता गुमेपछि सबैभन्दा चर्को विरोध गर्नेहरूले नै राष्ट्रपति र प्रधानमन्त्री छोड्न नहुने अडान पार्टीको बैठकमा राखेको बताए । उनले उनीहरुकै दबाबले पछिल्लो परिणति आएको पनि आरोप लगाए ।
“दुवै पद कुनै पनि हालतमा छोड्न हुन्न भनेर त्यतिबेला पार्टीभित्र नेतृत्वलाई दबाब दिइएको थियो” उनले भने, “अहिले सत्ता गुमेपछि जसले चर्को स्वरमा विरोध गरिरहनु भएको छ, दुवै पद छोड्न हुँदैन भन्ने उहाँहरू नै हो ।”
प्रवक्ता महतले प्रचण्डलाई सरकारको नेतृत्व दिएर जाने भन्ने निर्णय गरेको भए गगन–शेखर समूहले पार्टीभित्र विवादको रडाको ल्याउने स्थिति रहेकाे पनि बताएका छन् ।
वि.सं.२०७९ पुस २० बुधवार १८:०६ मा प्रकाशित






























