काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा आगामी फागुन पहिलो साता काठमाडौंमा १६औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङ्गारिक कृषि मेला हुने भएको छ । कोरोना महामारीको कारण विगत तीन वर्षदेखि रोकिएको मेला आगामी फागुन २ देखि ६ गतेसम्म हुन लागेको हो । बिहीबार नेपाल घरेलु तथा साना उद्योग महासंघले पत्रकार सम्मेलन गर्दै मेलाको बारेमा जानकारी दिएको हो ।
मेलामा स्वदेशी उद्योगीको उत्पादनसँगै सार्क मुलुक र चिनियाँ उद्योगीको पनि उत्पादनका स्टलहरु रहने जनाइएको छ । प्रदर्शनीमा दुई सय वटा स्टलको व्यवस्था हुने र दुई लाखभन्दा बढी अवलोकनकर्ताले मेलाको अवलोकन गर्ने अपेक्षा महासंघले लिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै महासंघ अध्यक्ष उमेशप्रसाद सिंहले मेलाले स्वदेशी उद्योगीलाई आफ्नो उत्पादनको प्रवद्र्धन गर्न टेवा पुग्ने बताए । “नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं” र “मिहनेत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालको” भन्ने प्रदर्शनीको मुख्य नारा रहेको भन्दै सिंहले भने, “हाम्रा तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धनसमेत गरिने यस मेलाले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुस, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षण हुनेछन् ।”
प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने महासंघले जनाएको छ । प्रदर्शनीमा दुई सय वटा स्टलको व्यवस्था हुने र दुई लाखभन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने सात करोड रुपियाँभन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको छ ।
नेपालको अर्गानिक उत्पादनलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीहरुलाई समेत आकर्षित गर्न अर्गानिक उत्पादनलाई नेपाल सरकारले प्रोत्साहन गरिरहेको र यस्ता उत्पादनहरु उपभोग गर्न उपभोक्ताहरु समेत जागरुक रहेको परिप्रेक्ष्यमा अर्गानिक उत्पादनहरुका बारेमा आम नागरिकलाई सचेतना गराउने र सहज रुपमा अर्गानिक उत्पादनहरु उपलव्ध गराउन यस्ता उत्पादनको बिक्री वितरणलाई सहयोग पुर्याउने उद्देश्यका साथ अर्गानिक एसोसियसनसँगको सहकार्यमा कृषिका अर्गानिक उत्पादनहरुको छुट्टै प्याभिलियन मार्फत प्रदर्शनी गरिने व्यवस्था गरिएको अध्यक्ष सिंहले जानकारी गराए ।
व्यापार मेलामा महिला उद्योगीलाई निःशुल्करुपमा स्टल उपलब्ध गराइने पनि जनाइएको छ । स्वेदशी उद्योगी र विदेशीलाई भिन्नाभिन्ने स्टल शुल्क रहने जनाइएको छ । महासंघले न्यूनतम स्टल शुल्क ३५ हजार रहने जनाएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने यस मेलाको सह–आयोजकको रुपमा अर्गानिक एसोसियसन अफ नेपाल, नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय– व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, बागमती प्रदेश सरकार, सुदुरपश्चिम प्रदेश सरकार आदि रहने छन् । त्यसैगरी अन्य सरकारी निकाय तथा गैह«सरकारी संघसंस्थाहरु यसका प्रवद्र्धक र सहयोगी रहनेछन् ।
वि.सं.२०७९ पुस २१ बिहीवार १७:०१ मा प्रकाशित






























