बेनी । सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले एकजना दिवङ्गत बिमितका परिवारलाई रु एक करोड मृत्यु दाबी रकम भुक्तानी गरेको छ । आज बेनीमा आयोजित बीमा सचेतना कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–६ घारका दिवङ्गत कृष्ण बरुवालको परिवारलाई रु एक करोड ५० हजार रकम हस्तान्तरण गरिएको हो ।
सिटिजन शुभारम्भ बीमा योजनाअन्तर्गत गत असार ३१ गते जीवन बीमा गरेका बरुवालको गत मङ्सिर २१ गते बेनीमा क्याम्पस भवन निर्माण योजनाको नापजाँचका क्रममा ढिस्काले पुरिएर मुत्यु भएको थियो । रु ५० लाखको बीमालेख पोलिसी खरिद गरेका बरुवालको घरपरिवारलाई बीमाङ्क रकम रु ५० लाख, दुर्घटना मृत्यु लाभवापतको रकम र रु ५० लाख र किरिया खर्चवापतको रु ५० हजार गरी एकमुष्ठ रु एक करोड ५० हजार रकम हस्तान्तरण गरिएको कम्पनीका म्याग्दी शाखा प्रमुख भावना पौडेल सुवेदीले जानकारी दिइन् ।
उनका अनुसार २० वर्षको पोलिसी खरिद गरेका बरुवालले प्रत्येक वर्ष रु दुई लाख ६५ हजार तीन सय ५७ प्रिमियम तिर्ने गरी बीमा गरेका थिए भने एकवर्षको मात्रै रकम उनले भुक्तानी गरेका थियो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र कम्पनीका ब्राण्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बरुवालका घरपरिवारलाई उक्त मृत्यु दाबी रकमको चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा कलाकारद्वय श्रेष्ठ र आचार्यले जीवन बीमा भविष्यको बचत र आपत्को सहयोगी भएकाले यसको पहुँच हरेक नागरिकसम्म पु¥याउन जरुरी रहेकामा जोड दिए । “मानिसको जीवनको आफैँमा भर हुँदैन, नेपालमा स्वास्थ्य उपचार अत्यन्त महँगो छ, कम्तीमा आफूले सक्ने क्षमताको बीमा गरेमा त्यसले उपचारमा ढुक्क बनाउँछ, बिरामी हुनै नपरे भविष्यमा बचतको रूपमा फिर्ता पाइन्छ”, श्रेष्ठले भने ।
अर्का कलाकार आचार्यले हरेक नागरिकको जीवनमा आर्थिक जोखिमलाई कम गर्न बीमाले महत्वपूर्ण सारथीका रूपमा काम गरेको उल्लेख गर्दै समुन्नत समाजमा सरकारले नै नागरिकको जीवन बीमामा सहयोग र प्रेरित गर्ने बताए ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पौडेलले नागरिकका चिन्ता र चुनौतीलाई व्यवस्थापन गर्ने सोचका साथ बीमाको अवधारणको विकास भएको उल्लेख गर्दै बीमाको पहुँचलाई विस्तार गर्नुपर्नेमा जोड दिए । उनले नयाँ कम्पनीको रूपमा स्थापित भएको सिटिजन लाइफले बिमितमा नवीन, नयाँ र आकर्षक सुविधासहित आएको बताए ।
कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत भुषण रिमाल र सुनिल पोखरेल, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, शाखा प्रमुख भावना पोडेल सुवेदीलगायतको उपस्थिति थियो ।
वि.सं.२०७९ पुस २१ बिहीवार २०:३९ मा प्रकाशित




























