काठमाडौं । सत्ता साझेदार दलहरुबीच भएको आइतबारको बैठकमा चार प्रदेशमा दुई दलको एकल नेतृत्व र अन्य तीन प्रदेशमा आलोपालो सरकार चलाउने सहमति भएको छ ।
आइतबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बसेको सत्ता साझेदार दलहरुको बैठकले सातै प्रदेशका मुख्यमन्त्रीको भागबण्डा टुंगो लगाएका हो । उक्त बैठकको निर्णय अनुसार एमालेले गण्डकी, लुम्बिनी र प्रदेश नम्बर १ मा पाँचवर्ष मुख्यमन्त्री पद लिने सहमति दलहरुबीच भएको हो ।
दलहरुबीचको सहमति अनुसार प्रदेश नं १ मा नेकपा एमालेका सांसद हिक्मत कार्की आइतबारै मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् । कार्कीले आफ्नो पार्टीको ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जनता समाजवादी पार्टी (जसपा) का १ गरी ६० सांसदको समर्थनमा मुख्मन्त्रीमा नियुक्त भएका हुन् । सो प्रदेशमा माओवादी केन्द्रले सभामुख र एमालेले उपभामुख लिने सहमति भएको हो ।
त्यस्तै मधेश प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीले आलोपालो मुख्यमन्त्री चलाउने भएका छन् भने सभामुख पाँचैवर्ष एमालेले चलाउने र मुख्यमन्त्री फेरिएसँगै उपसभामुख पनि फेरिने सहमति भएको बताइएको छ ।
त्यसैगरी वागमती प्रदेशमा मुख्यमन्त्री पदमा एमाले र माओवादीले आलोपालो गर्ने निर्णय भएको छ । वागमतीमा माओवादी केन्द्रले पहिलो साढे २ वर्ष र पछिल्लो कार्यकाल एमालेले लिने निर्णय भएको छ । वागमतीमा सभामुख पद राप्रपा र उपसभामुख पद एमालेले लिने सहमति शिर्ष नेतृत्वबीच भएको छ ।
गण्डकी प्रदेशमा एमालेले पाँचवर्ष एकलरुपमा मुख्यमन्त्री चलाउन पाउनेछ । मुख्यमन्त्री पदका लागि एमालेका प्रदेश ससदीय नेता खगराज अधिकारीले आज मुख्यमन्त्रीमा आफ्नो दावी पेश गर्नेछन् । गण्डकीमा सभामुखमा माओवादी र उपसभामुखको पद एमालेले लिने निर्णय भएको छ ।
त्यस्तै लुम्बिनी प्रदेशको मुख्यमन्त्री पद पनि एमालेले पाँचवर्ष चलाउने सहमति भएको छ । यद्यपी सभामुख पद माओवादी र राप्रपाले उपसभामुख पद पाउने सहमित भएको बताइएको छ ।
त्यसैगरी कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रले पाँचवर्ष मुख्यमन्त्री पद लिने भएको छ । कर्णाली प्रदेशमा एमालेले सभामुख र माओवादी केन्द्रले उपभामुख पद चलाउने सहमति भएको छ ।
सूदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेले पहिलो कार्यकाल लिने भएको छ भने पछिल्लो कार्यकालका लागि टुंगो लागिसकेको छैन । सुदूरपश्चिममा सत्ता साझेदार दलकै रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीमा दाबी गर्दै आएको छ । यद्यपी दलहरुको आइतबारको बैठकमा सो पार्टीलाई उपसभामुख पद लिन प्रस्ताव गरिएको थियो । उक्त प्रदेश सभाको सभामुख पद भने माओवादीको भागमा परेको छ ।
दलहरुबीच प्रदेशमा मात्र नभएर केन्द्रमा पनि आलोपालो सरकार चलाउने सहसमति भएको हो । जसमा प्रधानमन्त्रीमा पहिलो कार्यकाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् भने पछिल्लो कार्यकालमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् ।
त्यसैगरी प्रतिनिधि सभाको सभामुखमा पनि पहिलो कार्यकालमा एमालेले लिने सहमति भएको छ । प्रधानमन्त्रीमा प्रचण्डको कार्यकाल सकिनासाथ एमालेबाट नियुक्त सभामुखको पनि कार्यकाल सकिने दलहरुबीच सहमति भएको हो ।
वि.सं.२०७९ पुस २५ सोमवार ०९:०१ मा प्रकाशित






























