काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेको प्रदेश संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा रहेका अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
अधिकारीलाई आफ्नो पार्टीका २२, माओवादी केन्द्रका ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका २ गरी ३२ प्रदेश सांसदको समर्थन रहेको छ । साथै अधिकारीलाई स्वतन्त्र सांसद दीपक मनाङेले पनि अन्तिममा समर्थन गरेका थिए ।
एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख समेत रहेका खगराज मंसीर ४ मा सम्पन्न प्रदेशसभाको निर्वाचनमा कास्की १(१) बाट विजयी भएका थिए ।
आइतबार बेलुका सत्ता साझेदार दलबीच भएको बैठकमा प्रदेशको बाँडफँट टुंग्याइएको थियो । सो बैठकको निर्णय अनुसार नेकपा एमालेले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश १ मा पूरै कार्यकाल मुख्मन्त्री चलाउन पाउने भएको छ ।
वि.सं.२०७९ पुस २५ सोमवार १५:४० मा प्रकाशित





























