काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।
नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सदस्य अरुण चौधरी बिहीबार बाँकेबाट पक्राउ परेपछि सो पार्टीले पक्राउको विरोध गर्दै २४ घण्टाभित्र उनलाई छोड्न अल्टिमेटम दिएको हो ।
१० वर्षअघि कैलाली जिल्ला अदालतबाट दोषी ठहर भएका चौधरी बिहीबार बाँकेबाट पक्राउ परेपछि सो पार्टीले सरकारले आफुहरुमाथि पूर्वाग्रह राखेर सांसद चौधरीलाई पक्राउ गरेको भन्दै २४ घण्टाभित्र रिहा नगरे आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ ।
सो पार्टीका प्रवक्ता दामोदर पण्डितद्धार जारी विज्ञप्तिमा भनिएको छ–‘नागरिक उन्मुक्ति पार्टीको कैलाली जिल्ला क्षेत्र नं २ बाट जननिर्वाचित प्रतिनिधि सभा सांसद (माननीय) अरुण कुमार चौधरीलाई कोहलपुर बाँकेबाट सरकार र त्यसबेला (२०६६ साल भाद्र ३ गते) आन्दोलनकारी (थरुहट, थारुवाान) पक्षबीच समझदारी भईसकेको विषयलाई फेरि उठाएर पक्राउ गरिएकोमा नागरिक उन्मुक्ति पाटीले घोर भत्र्सना गर्दछ ।’
सो पार्टीले सम्पूर्ण आदिवासी जनजाति, थारुजाति, पहिचानवादीहरुको अर्को विभेद भएको ठहर गर्दै २४ घण्टाभित्र चौधरीलाई रिहा नगरे त्यसपछिका घटनामा आफै घट्ने घटनाको परिणाम दोषी सरकार र सम्बन्धीत निकाय हुने चेतावनी समेत दिएको छ ।
‘यस घटनाले नागरिक उन्मुक्ति पार्टी र पहिचानवादीहरुमा ठूलो आघात परेको महसुस भएको छ । हामीलाई जबरर्जस्त आन्दोलनमा जाने धकेल्ने प्रयास नगरियोस् ।’ विज्ञप्तिमा भनिएको छ ।
वि.सं.२०७९ माघ १९ बिहीवार २१:३५ मा प्रकाशित




























