काठमाडौं । आगामी माघ २४ गतेदेखि २९ सम्म काठमाडौंको भृकुटीमण्डपमा २८ औं संस्करणको क्यान इन्फोटेक मेला सञ्चालन हुँदैछ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा उक्त मेला सञ्चालन हुनेछ । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधि प्रदर्शन गर्ने उद्देश्यले सो मेलाको आयोजना गरिएको महासंघका अध्यक्ष रणजीत कुमार पोद्दारले बताएका छन् ।
प्रविधिमा आधारित मेला भएकाले मेलामार्फत अवलोकनकर्ताले विकसित नयाँ प्रविधिको बारेमा जानकारी लिनसक्ने आयोजकको भनाई छ । ‘यो मेला प्रविधिमा आधारित मेला हो, विश्वमा प्रविधिले क्षण–क्षणमा नै फड्को मारिरहेको अवस्था छ, अहिले जतिपनि नयाँ प्रविधिको विकास भइरहेको छ मेलामा हामीले त्यसलाई पदर्शन गर्छौं, जुन सफ्टवेयरदेखि हार्डवेयरसम्मका हुनेछन्’, अध्यक्ष पोद्दारले भने ।
साथै अहिलेको मेलामा नेपालभित्रै विकास हुँदै झण्डै दुई दर्जन स्टार्टअप प्रविधिहरु पनि पदर्शनमा रहने उनको भनाइ छ । ‘अहिलेको मेलामा नेपालमा विकास भएका २५÷२६ वटा स्टार्टअपका पनि स्टलहरु रहन्छन्’, उनले भने, ‘नेपालीहरुले के–के बनाए, के–के बनाउन मिल्छ र भोलिको दिनमा के–के बनाउन सकिन्छ भन्ने विषय पनि मेलाबाट देख्न सकिन्छ ।’ यसपटक नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष स्थान दिने कोशिष गरिएको आयोजकले जनाएको छ ।
आयोजकले मेला सञ्चालनको लागि अन्तिम तयारी गरिरहेको अध्यक्ष पोदारले बताए । उनका अनुसार मेलामा रहने सम्पूर्ण स्टल बुकिङ भइसकेको छ भने निर्माण गर्ने काम पनि भइरहेको छ । यसपटकको मेलामा केही अन्तर्राष्ट्रिय व्यवसायीहरुले पनि स्टलमार्फत प्रत्यक्ष सहभागिता जनाउने उनले बताए ।
मेलामा अवलोकन गर्न आउनेहरुको लागि आयोजकले टिकटको व्यवस्था गरेको छ । त्यसको लागि पे वेल सँग महासंघले सहकार्य गरेको छ । ‘हामीले साधारण टिकटको लागि एक सय र विद्यार्थीहरुका लागि ५० रुपैयाँ लिने व्यवस्था गरेका छौं, तर पे वेलबाट टिकट काटेमा २५ रुपैयाँमा टिकट काट्न सकिन्छ’, अध्यक्ष पोद्दारले भने । उनका अनुसार मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मार्फत गर्ने गरी आयोजकले तयारी गरेको छ ।
३ देखि ४ लाख दर्शकले मेलाको अबलोकन गर्नसक्ने आयोजकले अनुमान गरेको छ । ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ इन विद एससीटी’ नाम रहेको मेलासँग सूचना, सञ्चार तथा प्रविधिसँग जोडिएका धेरै क्षेत्रले सहकार्य गरेका छन् । जसमा डिसहोम फाइबरनेट, नेपाल टेलिकम, हुवावे, एसपावर, डिजिकम, अनसिक्का, पे वेल, आइएमई जनरल इन्स्योरेन्स लगायतका निजी क्षेत्र र सरकारकारी क्षेत्रका निकायहरु समेत रहेका छन् ।
क्यान महासंघले सन् १९९५ देखि इन्फोटेक मेलाको आयोजना गर्दै आएको छ । सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित सामग्री तथा प्रविधिहरुको पदर्शन हुने यो मेला मुलुककै ठूलो पदर्शनीको रुपमा रहने गरेको छ । प्रदर्शनीको माध्यमबाट अवलोकनकर्ताहरुले एकैठाउँबाट विकसित सूचना प्रविधिको विषयमा जानकारी लिनसक्ने र खरिद गर्न सक्ने अवसर प्राप्त गर्छन् । त्यस्तै, व्यवसायीहरुले एकअर्कासँगबाट अनुभव आदानप्रदान गर्ने र थप व्यवसाय गर्ने अवसरको रुपमा लिने गरेका छन् । महासंघले फागुन महिनाको शुरुवातसँगै प्रदेशहरुस्तरमा पनि मेला आयोजना गर्ने तालिका तय गरेको छ ।
वि.सं.२०७९ माघ २२ आइतवार ११:३८ मा प्रकाशित

























