काठमाडौं । लामो अन्तरालपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरुबीच भेटवार्ता भएको हो ।
भेटमा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा र नेकपाका नेता खड्गबहादुर विश्वकर्मा पनि सहभागि थिए । बताइएअनुसार महराको सहजीकरणमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिएअनुसार आइतबारको भेटमा नेताहरुबीच माओवादी धाराका सबै शक्तिहरूलाई एक ठाउँमा ल्याउनुपर्ने विषयमा छलफल भएको थियो । नेताहरुबीच तत्कालको लागि साझा मोर्चा र कार्यक्रम गर्दै सहकार्यको वातावरण बनाउनुपर्ने विषयमा पनि छलफल भएको थियो ।
तत्काल साझा मोेर्चा र कार्यक्रम बनाउन सके भविष्यमा पार्टी एकताको आधार पनि तय गर्न सकिने निष्कर्ष नेताहरुको छ । आइतबारको भेटमा तत्काल मोर्चा बनाउने गरी जानुपर्ने निष्कर्ष नेताहरुले निकालेका छन् । माओवादी धाराहरू एक ठाउँमा उभिँदा परिवर्तनका मुद्दा प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सजिलो हुने र अन्य वामपन्थीहरूबीच सहकार्य र एकताको वातावरण तयार हुनेमा नेताहरू एकमत भएका तिमिल्सिनाले बताए ।
पार्टी एकताका लागि महराको पहल
माओवादी प्रवक्ता महरा लामो समयदेखि नै माओवादी धाराका शक्तिहरुबीच एकताको प्रयासमा छन् । उनले विभिन्न समयमा एकताको लागि छलफल पनि गर्दैे आएका छन् । पछिल्लो समय माओवादी केन्द्रले विभिन्न पार्टीबीच एकताको लागि पहल गर्न समिति नै बनाएर महरालाई संयोजक बनाएपछि उनको सक्रियता बढेको छ ।
हालै सम्पन्न स्थायी समिति बैठकमा महराले विभिन्न पार्टीहरुसँग भएका छलफलबारे ब्रिफिङ्ग गरेका थिए । उनले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीदेखि विप्लव नेतृत्वको नेकपासँग पनि छलफल भएको बताएका थिए ।
भट्टराई नेतृत्वको नेसपासँगको एकता प्रक्रिया सकारात्मक ढंगले अगाडि बढेको महराको बिफ्रिङ्ग छ । विप्लव नेतृत्वको नेकपासँग एकताको विषयमा छलफल सकारात्मक रहेपनि विप्लव स्वयम् भने एकताका लागि त्यति इच्छुक नभएको महराको निष्कर्ष थियो । तर, पछिल्लो भेटवार्ता भने सकारात्मक देखिएको छ ।
तत्कालै मोर्चाबन्दी गरेर जाने विषयमा भएको छलफलले एकता प्रक्रियालाई अगाडि बढाउन सहज हुने देखिन्छ ।
वि.सं.२०७९ माघ २३ सोमवार ११:५२ मा प्रकाशित






























