
काठमाडौं । टर्किलाई केन्द्रविन्दु बनाएर सोमबार गएको भूकम्पका कारण हालसम्म ९ हजार बढीको मृत्यु भएको छ ।
भूकम्पमा परी हालसम्म टर्कि र सिरियामा नौ हजार पाँच सय ७८ जनाको मृत्यु भएको समाचार ऐजेन्सीले जनाएका छन् ।
हालसम्म टर्कीमा सात हजार १०८ र सिरियामा दुई हजार ७० जनाले ज्यान गुमाएका दुवै देशका सरकारी अधिकारीहरूले बताएका छन् । टर्कीमा मात्र ४० हजारभन्दा बढी घाइते भएका छन् ।
करिब छ हजार भवन भत्केकाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने प्रभावित क्षेत्रमा खटिएका उद्धारकर्मी र चिकित्सकले बताएका छन् । उद्धार तथा राहतको अनुगमन एवम् समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले २० हजार मानिस हताहत भएका अनुमान गरेका छन् । भूकम्पबाट अति प्रभावित १० प्रान्तमा तीनमहिने आपत्काल घोषणा समेत गरिएको छ ।
राहत सहयोग लिएर पुगे यी देश
शक्तिसाली भूकम्पबाट मर्माहत भएको टर्कि र सिरियामा बिभिन्न देशका सरकारले भौतिक तथा आर्थिक सहयोग पठाएका छन् ।
समाचार ऐजेन्सीका अनुसार टर्कि र सिरिया दुवै देशका लागि हालसम्म दक्षिण कोरिया, चीन, अष्ट्रेलिया, न्युजिल्याण्ड, भारत, अमेरिका, युरोपियन युनियन, इजरायल, ब्रिटेन, पाकिस्तान लगायतका देशमध्ये केहीले मेडिकल टिम, उद्वार टिम, चिकित्सक लगायत पठाएका छन् भने केहीले आर्थिक सहयोग घोषणा गरेका छन् ।
हालसम्म दुवै देशका लागि दक्षिण कोरियाले ५ मिलियन, चीनले ६ मिलियन, अष्ट्रेलिया र न्युजिल्याण्डले ११ मिलियन आर्थिक सहयोग पठाइसकेका छन् भने अमेरिकाले १९ जनाको सर्च अपरेशन टिम तथा सयजना फायर फाइटर्स र इन्जिनियर पठाइसकेको छ । साथै युरोपियन युनियनले सर्च र रेस्क्यु टिम, रुसले उद्वार कार्यका लागि ३०० सैनिक र हेलिकप्टर, इजरायलले उद्धार कार्यका लागि १५० इन्जिनियर र मेडिकल स्टाफ, ब्रिटेनले ७६ रेस्क्यु स्पेशल टिम पठाएको छ भने भारतले इण्डियन एयरफोर्सको सी १७ विमान तथा नेशनल डिजास्टर रेस्पोन्स फोर्स, डाक्टरको टोली र राहत सामग्री पठाएको छ । साथै पाकिस्तानले पनि सर्च रेस्क्यु टीम र २५ टन राहत सामग्री पठाइसकेको छ ।
सहयोग पठाउँदै यी देश
त्यस्तै चेक गणतन्त्र, फ्रान्स, माल्टा, नेदरल्याण्ड, पोल्याण्ड, अल्जेरिया, इटाली, मोल्डोभा, अल्बानिया, उज्वेकिस्तान, हंगेरी, जर्मनी, सर्बिया, स्लोभाकिया, आर्मेनिया र कतारले पनि टर्की र सिरियामा सहयोग पठाउने घोषणा गरेका छन् ।
नेपाल सरकारले पनि बुधबार टर्किमा आवस्यक स्वास्थ्य सामग्री र मेडिकल टिम पठाउने निर्णय गरेको छ ।