गण्डकी । दृढ इच्छाशक्तिसँगै लगनशीलता हुने हो भने तरकारी खेतीका लागि जग्गा नै चाहिन्छ भन्ने छैन । घरको छातमा पनि राम्रो उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छिन् यहाँकी होटल व्यवसायी डिलमाया कार्की ।
पोखरा महानगरपालिका–१७ आँखा अस्पताल चोकमा होटल व्यवसाय गर्दै आएकी कार्कीले कौसीमा तरकारी खेती गरेर थप आम्दानी गरेकी छिन् । उनी यस क्षेत्रका महिलाका लागि उदाहरणीय बनेकी छिन् । कार्कीको कौसीमा यतिखेर लटरम्म गोलभेडा, ब्रोकाउली, धनियाँ, लसुनको साग, रायोसागलगायत तरकारी फलेका छन् । साथै उनी काँक्रो, घिराँैला, करेला, चिचिन्ना, लौका जस्ता लहरे बालिका बिरुवा रोप्ने तयारीमा छिन् ।
“होटलमा आउने पाहुनाका लागि कौसीमा फलेका तरकारी पकाउने गरेको छु”, उनिले भनिन् । होटलबाट निस्केको फोहरलाई कम्पोष्ट मल बनाएर कौसीको तरकारी खेतीमा प्रयोग गर्ने गरेको उनको भनाइ थियो । ग्राहक नभएको बेला तरकारीको हेरचाह गर्न कौसी जान्छिन् उनी । कार्कीका अनुसार उत्पादन भएको अर्गानिक तरकारीले परिवारलाई मात्र नभएर व्यवसायलाई समेत पुगेको छ ।
घरको माथिल्लो तल्लाको छतमा तरकारीका क्यारेट, गमला, रङ्गका बट्टामा विभिन्न जातका तरकारीका बोट छन् । कार्कीले भनिन्, “भान्छामा तरकारीको आवश्यकता पर्ने बित्तिकै झोला र पैसा लिएर पसलमा होइन चक्कु लिएर घरको भ¥याङ चढ्छु ।”
तरकारीसँगै उनकोे छतमा खोर पनि छ । खोरमा उन्नत जातका गिरिराज कुखुरा पाल्दै आएकी छिन् । अहिले खोरमा दुईवटा भाले र आठ वटा पोथी छन् । “आवश्यकता अनुसार घरमै उत्पादन भएको कुखुराको मासुले पाहुनालाई स्वागत गर्न पाउँदा रमाइलो लाग्छ, यसबाट आम्दानीसमेत भएको छ”, उनले भनिन् ।
कार्कीले तरकारीबाट निस्केको घाँस तथा होटलमा बचेको खानालाई दानाका रुपमा कुखुरालाई खुवाउने र सुली तरकारीमा प्रयोग गर्छिन् । उनिले भनिन्, “भविष्यमा कुखुरासँगै तरकारी खेतीलाई पनि विस्तार गर्ने सोच छ ।” छतमा लहलह तरकारी फस्टाएको देख्दा आनन्द लाग्ने उनको भनाइ छ ।
उच्च हिमाली क्षेत्रमा पाइने पहाडी क्षेत्रका बासिन्दाले बढी प्रयोग गर्ने जिम्बूको बिरुवासमेत उनको कौसीमा देख्न पाइन्छ । “एकवर्ष भयो जिम्बू किनेको छैन, आफ्नै उत्पादनले पुगेको छ । बाहिरबाट ल्याएको भन्दा घरमै उत्पादन गरेको जिम्बू ग्राहकको रोजाइमा पर्ने गरेको छ”, उनिले भनिन् ।
होटलमा खेर जाने खाद्यान्न तथा तरकारीका पात कुखुराको दानामा प्रयोग हुन्छ, सुली तरकारीकै लागि मल हुनेहुँदा चक्रिय प्रणालीमार्पmत आयआर्जनसँगै फोहर व्यवस्थापनमा समेत सहयोग पुगेको पोखरा–१७ का वडाअध्यक्ष राधिका शाही योगीले बताइन् ।
उनले कौसीखेती प्रवद्र्धनका लागि वडाले समूहगतरुपमा तालिम सञ्चालन गर्नाका साथै कृषि महाशाखाको सहयोगमा फोहरलाई मोहरमा परिणत गर्ने आधुनिक तथा प्रविधियुक्त सामग्री अनुदानमा वितरण गरिरहेको जानकारी दिइन् । रासस (file photo)
वि.सं.२०७९ माघ २६ बिहीवार १६:११ मा प्रकाशित






























