काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले बालमन्दिरको ५८ रोपनी जग्गाको भोग चलन कस्ले गरिरहेको छ भन्ने प्रश्न गरेकी छन् ।
सांसद श्रेष्ठले बुधबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै २०१८ सालमा नीजि सम्पत्तिलाई अधिग्रहण गरेर अनाथ बालबालिकाको हेरचाह गर्ने भनेर नेपाल बालसंगठनलाई जिम्मा दिइएपनि हाल बालमन्दिको एकल स्वामित्व रहेको २८ रोपनी र नेपाल ललितकलाको संयुक्त स्वामित्वमा रहेको २९ रोपनी गरेर कूल ५७ रोपनी जग्गा कस्ले भोगचलन गरिरहेको छ ? भन्ने प्रश्न गरेकी थिइन् ।
‘त्यो जग्गा कस्को हितको लागि प्रयोग भइरहेको छ ? त्यहाँ अनाथ बालबालिका, भर्खर जन्मेका बालबालिकाका लागि दूध समेत छैन । त्यस्तो मुख्य ठाउँमा भएको जग्गालाई कौडीको भाउमा बहालमा लगाएर व्यवसाय चलाउने केही व्यक्तित्व र व्यवसायिक घराना छन्,’ उनले भनिन्, ‘संगठनमा आफ्नो मान्छे छिराउने अनि बोर्ड कब्जा गरेर त्यो बोर्डले सिमित मान्छेहरुका लागि काम गरेको पाइयो ।’
श्रेष्ठले यसका बारेमा धेरै समाचारहरु आएपनि सरकारले अनदेखा गरेको बताइन् । उनले बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँच आयोग गठन भएको र आयोगले त्यसमा संलग्नलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको बताउँदै उक्त प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताइन् ।
वि.सं.२०७९ फागुन १० बुधवार १४:४२ मा प्रकाशित






























