काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) नेपाली कांग्रेसलाई राष्ट्रपति दिन तयार भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको चार दलको बैठकमा कांग्रेसलाई राष्ट्रपति दिन तीन दलले सहमति दिएका हुन् । तर, तीनै दलले राष्ट्रपतिमा स्वयम् पार्टी सभापति शेरबहादुर देउवा हुनुपर्ने प्रस्ताव गरेका छन् ।
एमालेले राष्ट्रपतिको प्रस्ताव गरेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्पष्ट रुपमा “देउवा भए सहमत नभए आफुँ उठ्ने” बताएका थिए । “देउवाजी उठे मेरो सहमति छ, नभए म आफैं उठ्छु, मलाई सहयोग गर्नुपर्छ”, बैठकमा नेपालले भनेको भनाई उद्र्धत गर्दै एक नेताले भने ।
तथापी, कांग्रेसले भने वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रस्ताव गरेको छ । कांग्रेसले माधव नेपाललाई चुनाव प्रधानमन्त्री बनाउने प्रस्ताव राखेको एक नेताले बताए ।
नेताहरुका अनुसार साँझ पाँच बजे बस्ने बैठकले ठोस निर्णय गर्नेछ । तीनै दल देउवाको नाममा सहमत भएको कारण देउवा नै उम्मेदवार हुने सम्भावना बढी रहेको नेताहरुले बताएका छन् ।
बैठकमा चारै दल पूर्व पाँच दलीय गठबन्धनलाई ब्यूँताउन पूर्ण सहमत भएका छन् । एकीकृत समाजवादीका नेता घनश्याम भुसालले जानकारी दिएअनुसार सत्ता सहकार्यको विषयमा चार दलबीच सैद्धान्तिक सहमति भइसकेको छ ।
साँझ बस्ने बैठकले शक्ति बाँडफाँटका बाँकी कुराहरु टुंग्याउने उनले बताए ।
वि.सं.२०७९ फागुन १२ शुक्रवार १६:३८ मा प्रकाशित


























