back
CTIZAN AD

कतारबाट फर्किएर कफी व्यवसायमा रमाउँदै देवकोटा

वि.सं.२०७९ फागुन १८ बिहीवार

792 

shares

सुमनजङ्ग थापा, कुश्मा । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतदेखि पोखरा पुग्नु अगावै लुम्ले गाउँ आउँछ । मुटु काम्ने गरी चिसो हावा चल्ने भएरै होला, यस ठाउँलाई लिएर गायक तिलक बम मल्लले ‘मुटु छुने लुम्लेको हावाले’ बोलको गीत नै गाएका थिए । लुम्ले गाउँ गीतमा मात्रै सीमित छैन । कृषि, कृषि पर्यटन र कृषि अध्ययन गर्न चाहनेका लागि पनि लुम्ले गाउँ परिचित छ ।

यही गाउँका २७ वर्षीय युवा नवीन देवकोटाले सडक छेउमा ‘लुम्ले कफी स्टेट’ नाम दिएर ग्राहकलाई आफैँले उत्पादन गरेको जैविक कफीबाट बनेका पेयपदार्थ पिलाउँदै आएका छन् । उनले चार वर्षअघि सडक छेउको आफ्नै जग्गामा सानो कन्टेनरमा क्याफे सञ्चालन गरेका हुन् । राजमार्ग हुँदै गन्तव्यतर्फ दौडिरहेका यात्रु केहीछिन आफ्नो क्याफेमा कफी पिउनलाई रोकिने गरेको देवकोटा बताउछन् ।

“सडक छेउमा त्यो पनि एकान्त वातावरणमा भएर पनि हुन सक्छ मुस्ताङ, पर्वत, बागलुङ हिँडेका नेपाली र विदेश पर्यटक रोकिने गर्नुभएको छ”, उनले भने, “विदेशी ग्राहकलाई मैले आफैँ उत्पादन गरेको जैविक कफी हो भनेपछि उनीहरू जिज्ञासु र उत्साहित हुन्छन्, कति त कफी खेती देखाउन लैजा भनेर बोटसम्म नै पुग्ने गर्छन् ।”
होटेल म्यानेजमेन्ट विषय पढ्दै गर्दा पैसा कमाउने हुटहुटीले पढाइ छाडेर कतारको यात्रामा लागेका देवकोटा दुई वर्षको बिचमै स्वदेश फर्क । आफ्नै बाँझो जग्गा जमिनमा सहजै फलाउन सकिने कफी कतारका ठूला क्याफेमा महँगो मूल्य खर्चेर कफी पिउने पारखीको भीड देखेपछि देवकोटालाई स्वदेश फर्कन प्रेरित गरेको थियो ।

“म पोखराको बरिस्टामा कफी बनाउने तालिम लिएर कतार गएको थिएँ, अन्तर्राष्ट्रियस्तरमै कफी कल्चरलाई नजिकबाट नियाल्ने र काम गर्ने अवसर पाएँ”, उनले भने, “कतार जानुअघि नै लुम्लेमा कफी उत्पादन गर्न सकिन्छ भन्ने थाहा भएको कुराले हरेक दिन दिमागमा हान्न थाल्यो, भिसा बाँकी रहँदै देश फर्केर आफ्नो र भाडामा लिएको १५ रोपनी जमिनमा कफी खेतीको सुरुवात गरेँ ।”

सामान्य परिवारमा हुर्केका देवकोटाका बुबा अहिले पनि विदेशी मुलुकमा श्रम गर्दै आएका छन् । छिट्टै बुबालाई पनि स्वदेश फर्काउने उनको चाहना छ । आमाले छोराको कफी यात्रालाई पूर्ण रूपमा सघाउँदै आएकी छन् । “नर्सरीमा उत्पादन भएका बिरुवादेखि प्रशोधनसम्मको काममा आमाले सघाउनुहुन्छ”, देवकोटाले भने “मैले क्याफे सञ्चालनदेखि कफीको बोट र धुलो पनि प्याकेजिङ गरेर बेच्ने भएकाले त्यसको बजारीकरण र ब्राण्डिङमा काम गर्छु ।”

देवकोटालाई आफूले उत्पादन गरेको कफी बजारमा राम्रो मूल्यमा बिकोस् भन्ने चाहना थियो । उनी धेरै ठाउँमा कफी बेच्न पुगे । उनले दुःखअनुसारको मूल्य कहीबाट नपाएपछि आफ्नो जग्गामा उत्पादित कफी प्रशोधन गर्ने र क्याफेसमेत सञ्चालन गर्ने निर्णय गरे । पहिले गुड्ने क्याफे सञ्चालन गर्ने सोच बनाएका उनले भनेजस्तो सस्तो मूल्यको सवारीसाधन फेला नपरेपछि सजिलै उचालेर सार्न सकिने कन्टेनरमा क्याफे स्थापना गरेका हुन् ।

“नेपालमा कफी संस्कृति बढिरहेको अवस्थामा स्थानीय कफीले सही मूल्य नपाउँदा कृषकले कफी खेतीमा चासो नदिएको देखिन्छ”, उनले भने, “नजिकै गाउँहरूमा कृषकले लगाएको कफीसमेत खरिद गर्दै आएको छु, उहाँहरू मैले दिने मूल्यमा खुसी हुनुहुन्छ, कृषकलाई बचाउन सकेमा मात्रै सहरका क्याफेमा गाउँको जैविक कफी पिउन पाइन्छ भन्ने हो ।”

देवकोटाको क्याफेमा स्थानीय कफीबाट बन्ने पेयपदार्थको स्वाद लिने मुख्य ग्राहक भनेका राजमार्गमा गुड्ने यात्रु नै हुन् । विदेश त्यागेर आएका देवकोटालाई गाउँमा बसेर कफी बेच्नुभन्दा पोखरामा गएर राम्रै क्याफे सञ्चालन गर्न सल्लाह दिने प्रशस्तै भेटिन्छन् । उनलाई अहिलेसम्म गाउँ छाडेर कतै जाने रहर आएको छैन ।

आफ्नै घरमा बसेर कफीका बिरुवा हुर्काउन पाउँदाको आनन्द आफूले अन्त कतै नपाउने देवकोटा बताउछन् । “हाम्रो कफी बजारभन्दा फरक भएरै होला दिनप्रति दिन ग्राहकको सङ्ख्या बढ्ने गरेको छ”, उनले भने, “कफी पारखीहरूले कफीको कपमा स्वाद मात्र भेट्दैनन् त्यहाँ खुसी र माया पनि भेट्ने गर्छन् ।”रासस

 

वि.सं.२०७९ फागुन १८ बिहीवार १४:४८ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...