काठमाडौं । आठ दलीय गठबन्धनले आगामी राष्ट्रपति निर्वाचनलाई लक्षित गरी बागमती प्रदेशका सांसदहरुबीच अभिमुखीकरण कार्यक्रम गर्न लागेको छ ।
बिहीबार काठमाडौंको एक होटलमा राष्ट्रपति निर्वाचन लक्षित प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरुको संयुक्त भेला गराएका आठ दलले आज बागमती प्रदेशका सांसदहरुबीच अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो ।
नयाँ बानेश्वरस्थित आनन्द इभेन्टमा दिउँसो १ बजे हुन लागेको अभिमुखीकरण कार्यक्रममा आठ दलभित्र रहेका बागमती प्रदेशका सांसदहरु सहभागी हुने छन् भने आठै दलका शिर्ष नेतृत्वहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेश केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिएका छन् ।
यहि फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आठ दल (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा) बाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदको साझा उम्मेदवार बनेका छन् भने नेकपा एमालेका तर्फबाट उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङ राष्ट्रपतिका उम्मेदवार रहेका छन् ।
उता आठ दलले सांसदहरुबीच अभिमुखीकरण कार्यक्रम गरिरहँदा नेम्वाङ पार्टीका अन्य नेताहरुसहित विभिन्न दलको पार्टी कार्यालयमा पुगेर राष्ट्रपतिमा आफुलाई भोट दिन अनुरोध गरिरहेका छन् । उनले बिहीबार नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेलाई भेटेर आफ्ना लागि भोट मागेका थिए ।
नेकपा एमालेले नेपाली कांग्रेस बाहेकका सबै दललाई पत्र लेखेर राष्ट्रपतिका लागि भोट दिन आग्रह गर्ने जनाएको छ । साथै भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मंगलबार पत्र पठाएर पौडेलका लागि मत मागेका थिए । file-photo
वि.सं.२०७९ फागुन १९ शुक्रवार ०८:१२ मा प्रकाशित






























