
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । संसद सचिवालयका प्रवक्ता एकराज गिरीले बताएअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिने व्यवस्था मिलाइदिन लेखेको पत्र दर्ता भएको छ ।
“प्रधानमन्त्रीले विश्वासको मत लिने एजेन्डा चैत ६ गतेको कार्यसूचीमा समावेश गरिदिनू भन्दै पत्र पठाउनुभएको छ”, प्रवक्ता गिरीले भनेका छन् ।
पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पुस २६ मा विश्वासको मत लिएका थिए। तर, राष्ट्रपति निर्वाचनसँगै तत्कालिन सत्ता गठबन्धन भत्किएको थियो ।
गठबन्धन भत्किएसँगै राप्रपा र एमालेले सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका थिए।
संवैधानिक व्यवस्थाअनुसार सरकारमा सहभागि कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । सोही व्यवस्थाअनुसार प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
हाल सत्ता गठबन्धनमा कांग्रेस र माओवादी केन्द्रसहित आठ दल छन् । सबै दलले मत दिएमा बहुमत सहजै पुग्नेछ । तथापी, राष्ट्रपतिको निर्वाचनसँगै भने कांग्रेससहित केही दलको आवाज फेरिएको विषयले भने विश्वासको मत लिने विषय सहज नहुने देखिन्छ ।