काठमाडौं । नेकपा माआवादीका सचिव देवेन्द्र पौडेलले राष्ट्रिय सहमतिको राष्ट्रपति र उपराष्ट्रपति बनाउनुपर्ने प्रस्ताव राख्दा एमाले सहमतिबाट भागेको बताएका छन् ।
सोमबार संसदमा सम्बोधन गर्दै सचिव पौडेलले पहिलो, दोस्रो, तेस्रो लगायतका दललाई सहमतिमा लिएर जाऔं भन्ने अहिलेको जनमत भएको बताउँदै एमाले त्यसबाट भागेको आरोप लगाए ।
‘कुनै दलले बहुमत ल्याएको भए बहुमत दल सरकारमा हुन्थ्यो । बहुमत ल्याउन नसक्ने प्रतिक्षमा हुन्थे । मिलेर जाने भन्ने जनताको जनमत हो,’ सचिव पौडेलले भने, ‘राष्ट्रपति उपराष्ट्रपति जस्तो सम्मानित पदमा दलभित्र तल झरालेर डिभेट नगरौंं भनेर प्रधानमन्त्रीले प्रस्ताव गर्नु भएको होइन र ? यहाँ प्रधानमन्त्री भाग्नु भएको होइन एमालेका साथीहरु किन भाग्नु भएको हो ?’
एमाले सहमतिका लागि आएको भए राम्रो सन्देश जाने थियो भन्दै नेता पौडलले भने–सहमतिका आधारमा राष्ट्रपति र उपराष्ट्रपति चुन्न पाएको भए सबै मिलेर अगाडि बढ्थ्यौैं ।’
प्रचण्डलाई विश्वासको मत दिन अनुरोध गर्दै नेता पौडेलले अहिले पनि फरक स्थिति भएकोले जनताको जनमतका आधारमा सहमति खोज्ने गलत नहुने बताए ।
‘दुई पटकसम्म संसद विघटन भयो ? कसका कारण विघटन भयो ? संविधानमा कहाँ लेखिएको छ ?’, उनले भने, ‘सर्वोच्चले गल्ती भयो भनेर सच्याइदियो । अनि माननीयहरु यहाँ आएर बोल्नुहुन्छ, मैले त बहादुरी गरेँ । त्यसका निम्ति लाहछाप लगाउन यो प्रतिनिधिसभा आएको हो र ? यही कारण परिस्थिति फरक प¥यो ।’ नेता पौडेलले एमालेका उपाध्यक्ष विष्णु पौडेलको प्रश्नको जवाफ दिँदै भने ।
वि.सं.२०७९ चैत ६ सोमवार १५:१९ मा प्रकाशित





























