Logo
१७ जेष्ठ २०८०, बुधबार
     Wed May 31 2023
E-paper
  English Edition
   Unicode
Logo

ताकेता गर्दा पनि कर नतिरेपछि राजस्व कार्यालयद्वारा नाम सार्वजिनक



जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम सार्वजनिक गर्दै तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ ।

आज सार्वजनिक सूचना जारी गर्दै विभिन्न मितिमा पत्राचार, फोन सम्पर्क तथा सङ्कलन भ्रमणका माध्यमबाट आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क दाखिला गर्न आग्रह गर्दा पनि सम्पर्कमा नआएपछि करदाताको नामसहित सार्वजनिक सूचना जारी गरिएको प्रमुख कर अधिकृत किशोर वर्तौलाले जानकारी दिए ।

“पहिलो चरणमा मोबाइलमा कर विवरण दाखिलाका लागि सन्देश पठाउने, दोस्रो चरणमा हरेक करदातालाई पत्राचार, फोन सम्पर्क र सङ्कलन भ्रमण पनि गरेका थियौँ, तर पनि बक्यौता रकम दाखिला नगरिएकाले त्यस्ता करदाताका नाममा सार्वजनिक सूचना जारी गरेर अनुरोध गरेका हाँै, अब प्रचलित कानुनको व्यवस्थाअनुसार अगाडि बढ्छौँ”, प्रमुख कर अधिकृत बर्तौलाले बताए ।

उनका अनुसार मूल्य अभिवृद्धि करतर्फको बक्यौता दाखिला नगर्ने दुई सय ६८ र आयकर तथा अन्तःशुल्क तथा टिडिएसतर्फ ३६ करदाताका नाममा सूचना जारी गरिएको र १५ दिनभित्र बक्यौता दाखिला गरी सोको प्रमाण आन्तरिक राजस्व कार्यालयमा पेस गर्न भनिएको छ ।

“अहिले बक्यौता रकम दाखिलाका लागि तीन सय चार करदातालाई सार्वजनिकरुपमा आग्रह गरेका छौँ”, बर्तौलाले भने, “यसरी पनि सम्पर्कमा नआए अन्तिम विकल्पका रुपमा आयकर ऐन, २०५८ को दफा १०४ देखि १११ सम्मको कुनै वा सबै प्रक्रिया, मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ बमोजिमको प्रक्रिया एवं अन्तःशुल्क ऐन, २०५८ को दफा १० ‘ज’ बमोजिमको प्रक्रिया अपनाइ असुलउपर गरिने छ ।”

आयकर ऐन, २०५८ को दफा १०४ मा कुनै व्यक्तिले कर दाखिला गर्ने मितिसम्म सो कर दाखिला नगरेमा नेपाल सरकारले व्यक्तिको सम्पत्ति माथि दाबी गर्ने, दफा १०५ मा दाबी गरेको सम्पत्ति लिलाम बिक्री गर्नेदेखि दफा १११ मा कर असुलीका लागि जिल्ला अदालतमा मुद्दा दायर गर्नेसम्मको व्यवस्था छ ।

त्यसैगरी मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ मा म्यादभित्र कर नबुझाएमा महानिर्देशकको पूर्वस्वीकृति लिइ कर अधिकृतले व्यवस्थाबमोजिमका कुनै वा सबै तरिका अपनाइ कर असुल गर्ने भनिएको छ । अन्तःशुल्क ऐन, २०५८ को दफा १० ‘ज’ मा म्यादभित्र बुझाउनुपर्ने अन्तःशुल्क नबुझाएमा अन्तःशुल्क अधिकृतले विभिन्न सात उपाय अपनाएर असुल गर्नसक्ने कानुनी प्रबन्ध छ ।

कार्यालयले आयकरतर्फ रु २८ करोड र मूल्य अभिवृद्धि करतर्फ रु ३२ करोड ७४ लाख २८ हजार आठ सय १७ गरी कूल रु ६० करोड ७४ लाख २८ हजार आठ सय १७ बक्यौता उठाउन बाँकी छ । ब्याज, थप दस्तुर, विलम्ब शुल्कसमेत गरेर सो बराबर बक्यौता उठाउन बाँकी रहेको हो ।

करदाताले प्रत्येक महिना आफूले बुझाउनुपर्ने कर रकम स्वयं निर्धारण गरी सो महिना समाप्त भएको २५ दिनभित्र विवरण पेस गर्नुपर्ने कानुनी प्रावधान छ । यसो नगर्दा तोकिएको राजस्व लक्ष्य पूरा गर्न पनि समस्या हुने र बक्यौता बढ्दै गई करदातामाथि नै दायित्व थपिने गरेको छ । यस कार्यालयको कार्यक्षेत्रमा सिन्धुली, सर्लाही र महोत्तरीसमेत छन् । रासस

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

काठमाडौं । हाल देशमा पश्चिमी वायू साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।