काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले तीनदिनभित्रै सवारी साधनको लाइसेन्स उपलब्ध गराउने गरी काम भइरहेको बताएका छन् ।
मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले कम्तीमा तीन दिन र बढिमा सातदिनभित्रमा लाइसेन्स दिने गरी कार्ययोजना बनाएर काम गरिएको जानकारी दिएका छन् ।
‘हाम्रो अहिलेको अनुमानमा यो कार्यान्वयन हुन ८ महिना लाग्ने देखिन्छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘अहिले हरेक दिन ६ देखि ७ हजार लाइसेन्सको माग छ । हामीसँग भएको प्रिन्टरले ४ हजार मात्र कार्ड छाप्न सक्छ । अहिलेसम्म ८ लाख ब्याक लकमा छ । ८ लाख ब्याक लकमा नछापि ७ दिनभित्रै लाइसेन्स दिन सकिन्न ।’
श्रेष्ठले त्यसलाई कसरी पुर्ति गर्ने भनेर सुरुमै विभिन्न उपाय अवलम्बन गर्न खोजिएको र ८ लाख लाइसेन्स सुरुमै आउट सोर्सिङ गरेर भएपनि अगाडि बढ्न खोज्दा खरिद ऐन, राज्यका विभिन्न अंग र त्यसले पहिले गरेका निर्णयहरु बाधक बनेको बताए ।
वि.सं.२०७९ चैत १३ सोमवार १५:०३ मा प्रकाशित






























