
काठमाडौं । वैशाख १० मा प्रतिनिधिसभाअन्तर्गतको तीन वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । जसको निम्ति आइतबार मनोनयन दर्ता भयाे । तीन वटा निर्वाचन क्षेत्रमा निर्वाचनको बाक्लिँदो चहलपहलका बीच सत्ताको नेतृत्वकर्ता माओवादी केन्द्र भने गुमनाम छ । माओवादी केन्द्रको तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवार छैनन् ।
माओवादीले बारा–२ मा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ भने चितवन–२ र तनहुँ–१ मा कांग्रेसका उम्मेदवारहरु जितनारायण श्रेष्ठ र गोविन्द भट्टराईलाई सघाउने निर्णय गरेको छ ।
तीन वटा निर्वाचन क्षेत्रमध्ये तनहुँ १ मा माओवादीभित्र उम्मेदवार उठाउनुपर्ने दबाब थियो । तर, पार्टी जिल्ला कमिटीले सिफारिस गरेका नामहरुमध्ये कुनै पनि उम्मेदवार चुनाव लड्न तयार भएनन् । तनहुँ जिल्ला कमिटीले पार्टी कोषाध्यक्ष श्रीराम ढकालसहित ओमकुमारी पौडेल, क्षितिज लामिछाने र सुर्यबहादुर गौलीको नाम सिफारिस गरेको थियो । चारै जनाले उम्मेदवार बन्न हच्चिकएपछि माओवादी कांग्रेस उम्मेदवारलाई सघाउने निर्णयमा पुगेको हो ।
बारा–२ र चितवन–२ मा भने उम्मेदवार उठाउने विषयमा माओवादीभित्र नै छलफल भएन ।
गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा तीन क्षेत्रमध्ये बारा–२ मा मात्रै माओवादीले आफ्नोतर्फबाट उम्मेदवार उठाएको थियो । चितवन–२ र तनहुँ–१ मा माओवादीले कांग्रेसका उम्मेदवारलाई सघाएको थियो भने बारा–२ मा कांग्रेसको पनि सहयोगमा माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहा उम्मेदवार बनेका थिए । तर, कुशवाहा जसपाका रामसहायप्रसाद यादवसँग चार सय मतान्तरले पराजित भए ।
निर्वाचनमा पराजित कुशवाह पुनः चुनाव लड्ने तयारीमा थिए । तर, माओवादीले उपेन्द्रलाई सघाउने निर्णय गरेपछि उनि सिके राउत नेतृत्वको जनमत पार्टीमा गए ।
मंसिर ४ मा भएको निर्वाचनमा समानुपातिकतर्फ आएको मतलाई हेर्दा तीनै क्षेत्रमा माओवादी सामान्य प्रतिस्पर्धी शक्तिको रुपमा देखिन्छ । चितवन–२ मा माओवादीले आठ हजार ४०७ मत ल्याएको थियो भने तनहुँ–१ मा सात हजार ३२६ र बारा–२ मा तीन हजार २६५ मत ल्याएको थियो । तीनै क्षेत्रलाई हेर्दा, समग्र मतअनुसार तनहुँ १ मा केही बलियो प्रतिस्पर्धी देखिन्छ ।
तर, तीन वटै क्षेत्रमा उम्मेदवार नउठाएर माओवादीले आफुँलाई थप कमजोर बनाएको छ ।