काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकर्सहरुसँग ब्याजदर घटाउन आग्रह गरेका छन् । नेपाल बैंकर्स एशोसिएसनका पदाधिकारीलाई बोलाएर महतले यस्तो आग्रह गरेका हुन् ।
उनले बैंकर्ससँग ब्याजदर घटाउन र कर्जा प्रवाहको अवस्था सहज बनाउन आग्रह गरेका छन् । “ब्याजदर उच्च हुँदा व्यवसाय गर्न गाह्रो भयो भन्ने व्यवसायीको गुनासो छ । व्यवसाय गर्न आवश्यक नगद प्रवाह नहुँदा व्यवसाय गर्नै समस्या भयो भनिरहनुभएको छ । ब्याजदर घटाउन सकिने अवस्था भए उहाँहरुको माग सम्बोधन गरिदिनुस्”, महतले भनेको बारे बैंकर्स संघका एक सदस्यले भनेका छन् ।
बैंकर्सहरूले बैंकिङ क्षेत्रमा अहिले स्थिति सहज बन्दै गएको ब्याजदर घट्ने चरणमा रहेकोले विस्तारै समस्या समाधान उन्मुख भएको बताएका छन् । उक्त भेटमा बैंकर्सहरूले अहिले बैंकिङ क्षेत्रमाथी सडकबाटै आन्दोलन हुनु दुखद भएको तथा भौतिक आक्रमणनै हुन थालेको भन्दै सरकारले कानूनी कारबाही गर्न माग गरेका छन् ।
छलफलमा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीसहितको टीमले अर्थतन्त्रको अवस्था र तरलता तथा ब्याजदरबारे अर्थमन्त्री महतलाई ब्रिफिङ गरेका थिए ।
वि.सं.२०७९ चैत २० सोमवार १५:४८ मा प्रकाशित






























