back
CTIZAN AD

सरकार निजी क्षेत्रको क्रियाशीलता र योगदान अझ बढोस् भन्ने चाहन्छः प्रधानमन्त्री

वि.सं.२०७९ चैत २८ मंगलवार

708 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार निजी क्षेत्रको क्रियाशिलता र योगदान अझ बढोस् भन्ने चाहेको बताएका छन् । राजधानीमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभा समुद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘निजी क्षेत्र बलियो र शसक्त नभई मुलुक समृद्ध हुन सक्दैन र दीगो विकासको लक्ष्य प्राप्त गर्न पनि सकिदैन । यो कुरामा सरकार स्पष्ट छ । के कस्तो सुधार गर्नु पर्छ त्यसको लागि सरकार तयार छ ।’

उनले निजी क्षेत्रको समस्या राम्ररी बुझेको बताउँदै आफूले सरकारको नेतृत्व सम्हालेको दिनदेखि नै संकटउन्मुख अर्थतन्त्रलाई कसरी चाडै सहज अवस्थामा ल्याउन सकिन्छ भनेर छलफल गरिरहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले कोभिड महामारी लगायत मुलुकसामु देखापरेका संकटहरूमा महासंघले खेलेको भूमिकाप्रति आभार समेत व्यक्त, गरेका थिए ।

‘नयाँ संविधान निर्माणपछि आर्थिक विकास र समृद्धिमा गुणात्मक फड्को मार्ने अपेक्षा गरिए पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति एवं आयामका कारण हाम्रो अर्थतन्त्रले संकटको सामना गरिरहेको छ । कोभिड महामारी, रूस–युक्रेन युद्ध, जलवायु परिवर्तन, लोकतन्त्र र संविधानमाथि आक्रमण र प्रतिरक्षाको राजनीतिक संघर्ष, राजनीतिक अस्थिरता जस्ता कारण राजनीतिक प्रतिवद्धता र संकल्प गरिएबमोजिम अर्थतन्त्रले फड्को मार्न नसक्दा राजनीतिक प्रणाली र संविधानमाथि आक्रमण गर्ने विचार र प्रवृत्तिले टाउको उठाउने प्रयाससमेत गर्दै आएको छ,’प्रधानमन्त्रीले भने, ‘तसर्थ, जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त राजनीतिक एवं संवैधानिक अधिकारको रक्षा एवं प्रगतिशील कार्यान्वयनका लागिसमेत आर्थिक समृद्धि र विकासलाई केन्द्रमा राखेर अगाडि बढ्नुको विकल्प छैन ।’

नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएको निजी क्षेत्रले अर्थतन्त्रलाई संकटबाट मुक्त गर्दै समृद्धिको लक्ष्य हासिल गर्न सरकारसँग मिलेर काम गर्ने संकल्पको लागि आभार व्यक्त गरेका थिए । उनले महासंघको उक्त संकल्पमा सरकारको तर्फबाट सम्पूर्ण रूपले सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गरे ।

‘वस्तु उत्पादन, बजार व्यवस्थापन, रोजगारी सिर्जना, राष्ट्रिय आयको वृद्धि र मुलुकको समग्र विकासमा निजी क्षेत्रले उल्लेख्य भूमिका खेल्दै आइरहेको छ । यस सन्दर्भमा बेलाबखत व्यवसाय सञ्चालनमा आउने बाधा र अवरोधहरूमा राज्यले सहजीकरण गर्नुपर्ने तपाईहरूको अभिमतप्रति सम्मान व्यक्त गर्दै लगानीमैत्री एवं व्यवसायमैत्री वातावरणका निम्ति सरकारको पूर्णतः सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।’ प्रधानमन्त्रीले भने ।

यस्तो प्रधानमन्त्रीको अन्य भनाई
नेपालको संविधानले तीन खम्बे अर्थनीतिको संवैधानिक व्यवस्था गर्दै निजी, साझेदारी र सहकारीको मोडल अगाडि सारेको छ, यसले प्रष्ट गर्छ कि राज्य र निजी क्षेत्रबीच बलियो एकता र सहकार्यले मात्र समृद्धि र विकासको राष्ट्रिय आकांक्षा प्राप्त गर्न सकिन्छ । निजी क्षेत्रलाई राज्यको तर्फबाट सम्मानित गर्नुपर्ने र प्रोटोकलमा समावेश गर्नुपर्ने जुन विषय यहाँहरूले उठाउनुभएको छ, यस प्रस्तावमा आवश्यक छलफल गरी उपर्युक्त निष्कर्षमा पुग्ने प्रतिवद्धतासमेत व्यक्त गर्दछु ।

कृषि हाम्रो अर्थतन्त्रको मूल आधार हो । तर पछिल्लो वर्षहरूमा कृषिको उत्पादन घट्दै गएको र कृषिजन्य वस्तुको आयात अत्यधिक बढ्दै गएको छ । एकातर्फ खेतीयोग्य जमिन बाँझो हुँदै जाने अर्कोतर्फ कामको खोजीमा दक्ष युवा जनशक्ति निकै सस्तो श्रममा विदेसिनुपर्ने बाध्यता छ । कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिई कृषिमा आधारित उद्योगहरूलाई प्रोत्साहन गर्ने नीतिले मात्र उल्लेखित समस्यालाई सम्बोधन गर्न सकिन्छ । मलखाद र विउविजनको सहज उपलब्धता, सिँचाइको व्यवस्था, बजारीकरण, व्यवसायी कृषिमा जोड, ठूला कृषि परियोजनाहरूको सञ्चालन र उत्पादनमा आधारित अनुदानको नीतिले मात्र यस क्षेत्रमा परिवर्तन ल्याउन सकिन्छ । नेपाल सरकार यस वर्षको नीति, कार्यक्रम तथा बजेटमा उत्पादन र निर्माणका केही ठूला, केही नयाँ र गुणात्मक प्रकृतिका योजनाहरू अगाडि बढाउने तयारीमा छ । यसले मात्र निरासाको सामना गरिरहेको अर्थतन्त्रमा नयाँ उर्जा र गति ल्याउन सकिन्छ भन्ने मेरो विश्वास छ ।
निजी क्षेत्रको चासो र माग सम्बोधन गर्न सरकार प्रतिवद्ध छ । मैले मन्त्रिपरिषदको पहिलो बैठकबाट नै अर्थतन्त्रमा सुधार ल्याउन राज्य र निजी क्षेत्रबीच गहिरो सहकार्य र बलियो एकता आवश्यक भएको महसुस गरी अर्थतन्त्र सुधारसम्बन्धि केही नीतिगत निर्णय गरेको थिएँ । त्यसको प्रभाव हाम्रो अर्थतन्त्रमा क्रमशः पर्दै गएको र अर्थतन्त्रमा सुधार आउन थालेको देखिन्छ । यस सन्दर्भमा तुलनात्मक लाभका क्षेत्रमा लगानी बढाउन, निजी क्षेत्रको चासो सम्बोधन गर्दै नीतिगत र कानुनी सहजीकरण गर्न, साना तथा मझौला उद्योगहरूलाई प्रोत्साहन गर्न, सेवा प्रवाहमा छरितोपन र प्रविधिमैत्री अवधारणा लागू गर्न, अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाउन, मौद्रिक नीति र वित्तीय नीतिबीच सन्तुलन कायम गर्न, ब्याजदर घटाउने उपायहरूको खोजी गरी लागू गर्न, पूँजीगत खर्चको सामथ्र्य बढाउन र अर्थतन्त्र सुधारका निम्ति आवश्यक पर्ने नीतिगत, कानुनी र व्यवहारिक कदम चाल्न सरकार तत्पर रहेको विषयसमेत यहाँ स्पष्ट पार्न चाहन्छु ।
नेपाल सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने, सन् २०२६ मा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र द्रूत साथै सन्तुलित विकास र समृद्धि हासिल गर्ने दिशातर्फ केन्द्रित छौं । यसका लागि सरकार र निजी क्षेत्र दुबैबाट हुने लगानीलाई वृद्धि गर्नुपर्ने साथै लगानीलाई उचित ढंगले प्राथमिकीकरण गर्नुपर्ने आवश्यकता छ । सरकारको प्रयासबाट सामाजिक–आर्थिक क्षेत्र केही प्रगति हासिल भएका छन् । बहुआयामिक गरिवी १७.४ प्रतिशतमा झरेको छ । शिक्षाको पहुँचमा महत्वपूर्ण प्रगति भएको छ । आधारभूत तहमा खुद भर्नादर ९५ प्रतिशत पुगेको छ । समग्र स्वास्थ्य सुविधाहरुमा जनताको पहुँचमा वृद्धि भएको छ । लैंगिक सशक्तिकरणमा उल्लेख्य सुधार भएको छ । आधारभूत खानेपानी सुविधामा ९५ प्रतिशत जनसंख्याको पहुँच पुगेको छ । विद्युत् विकासमा हाम्रो प्रगति उत्साहजनक छ । सडक घनत्वमा सुधार भइरहेको छ र असमानता घटाउनेतर्फ उल्लेख्य काम भएको छ । विदेशी मुद्राको सञ्चिति बढेको छ, विप्रेषणमा सुधार आएको छ, पर्यटक आगमनमा वृद्धि भएको छ, अर्थतन्त्र विघटनको दिशातिर जान्छ कि भन्नेखाले आशंका निवारण भएको छ । समग्रमा हेर्दा हामी संकटबाट सुधारको बाटो हिँड्दैछौँ भन्ने प्रष्ट चित्र देखिएको छ । यो हाम्रा लागि खुसीको कुरा हो ।
अर्थतन्त्र सुधारतर्फ उन्मुख भइरहे पनि पूर्णतः संकटमुक्त भइसकेको छैन । अर्थतन्त्रलाई सुधार ल्याई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा तीव्रताका साथ अगाडि बढ्न सरकार प्रतिवद्ध छ । यसका निम्ति निजी क्षेत्रको पूर्ण साथ र सहयोग रहने मैले विश्वास लिएको छु ।

अन्त्यमा, यहाँहरूले देखाउनुभएको चासो र मागलाई सम्बोधन गर्न सरकार र निजी क्षेत्रको बलियो एकता आवश्यक रहेकोमा जोड दिँदै यस साधारण सभाले अर्थतन्त्र सुधारका क्षेत्रमा महत्वपूर्ण निर्णयहरू लिने अपेक्षा गर्दै, निर्वाचित भएर आउने नयाँ नेतृत्व र टीमलाई अग्रिम बधाइ ज्ञापन गर्दै ५७ औँ वार्षिक साधारण सभाको भव्य सफलताको शुभकामना व्यक्त गर्दै विदा हुन्छु, धन्यवाद ।’

 

वि.सं.२०७९ चैत २८ मंगलवार १४:५० मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...