काठमाडाैं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले देशको अर्थतन्त्र सुदृढ रहेको बताएका छन् । आइतबार तनहुँमा आयाेजित एक कार्यक्रममा बाेल्दै उनले विदेशी मुद्राको सञ्चिति १०/१२ महिनाका लागि पुग्ने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए ।
उनले देश श्रीलङ्का जस्तै हुन्छ भनेर हल्ला फिँजाइएको चर्चा गर्दै वास्तविकता त्यस्तो नरहेको बताए ।
मन्त्री साउदले भूमिसम्बन्धी आयोगले निर्धारण गरेको जग्गाको राजस्व पुनरावलोकन गरिने बताए । जग्गाको राजस्वको दर निकै उच्च रहेकाले घटाउनका लागि काम अगाडि बढाइने उनका भनाइ छ ।
उनले आरक्ष विस्थापितको समस्या वर्षौंदेखि थाति रहेकाले सामाधानका लागि प्रतिबद्ध रहेको बताए । उनले आरक्ष विस्थापित परिवारलाई पुनःस्थापन गराउन पहल गरिने बताए । चौधर नदी नियन्त्रणका लागि चालू आवदेखि काम अगाडि बढ्ने उल्लेख गर्दै उनले जिल्लाका सनबोरा, स्याली र दोदा नदी नियन्त्रणका लागि योजनाबद्धरुपमा काम अगाडि बढाइने बताए ।
उनले पार्टी सङ्गठन मजबुत रहेको उल्लेख गर्दै युवा पङ्क्तिलाई भरोसा दिनुपर्ने बताए। भ्रातृ सङ्गठनलाई तन्दुरुस्त राख्ने चुनौती रहेको धारणा अघि सार्दै मन्त्री साउदले पार्टीको नीति तथा कार्यक्रमलाई प्रभावकारीरुपमा जनताका बीचमा लैजानुपर्ने आवश्यकता रहेको बताए । एजेण्डा र मुद्वा लिएर जनताका बीचमा जान उनले कार्यकर्तालाई निर्देशन दिए ।
वि.सं.२०८० वैशाख १७ आइतवार १५:५४ मा प्रकाशित






























