काठमाडौं । पूर्वगृहसचिव तथा हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । भुटानी शरणार्थीको परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने प्रकरणमा उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले जनाएअनुसार उक्त गिरोहका सदस्यहरुको बयानका आधारमा उनलाई पक्राउ गरिएको हो ।
मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । राई पक्राउ परेपछि पक्राउ पर्ने डरले सचिव पाण्डे घर छाडेर बाहिरिएका पाण्डेलाई प्रहरीले जडिबुटीबाट पक्राउ गरेको हो ।
हिरासतमा हुनेहरूले सचिव पाण्डेलाई ५० लाख नगद बुझाएको बयान दिएको प्रहरीले जनाएको छ । अनुसन्धानबाट पूर्व गृहसचिव महेश्वर न्यौपानेको पनि संलग्नता देखिएको प्रहरीले जनाएको छ ।
हाल उपराष्ट्रपतिको कार्यालयमा जिम्मेवारीमा रहेका पाण्डे उनी २०७८ साल साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिवका रूपमा कार्यरत थिए । मन्त्रालयको सचिव भएकै अवस्थामा नक्कली शरणार्थी प्रकरण र गिरोहसँगको साँठगाठमा उनी मुछिएका थिए । उच्च स्रोतका अनुसार गिरोहसँग रकम लेनदेनमा उनीसमेत मुछिएका छन् ।
सम्बन्धित समाचार
वि.सं.२०८० वैशाख २० बुधवार १४:०६ मा प्रकाशित






























