काठमाडौं । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिकामा यही वैशाख १९ गते बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुखअतिथि फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनले नगरपालिकाको आगामी आर्थिक वर्षको बजेटमा बीमालाई समावेश गरी सबै नगरवासीको दुर्घटना बीमा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रमुख मादेनले सरकारबाट अनुदानप्राप्त कृषिबीमा गर्नका लागि नगररपालिका क्षेत्रमा बीमा कम्पनीको शाखा कार्यालय खोल्ने व्यवस्था गर्न प्राधिकरणसँग आग्रह गरे ।
नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख कुन्दन सापकोटाले बीमा सम्बन्धी समग्र विषयमा जानकारीमूलक प्रस्तुती गरे ।
कार्यक्रममा सहभागीहरुले बीमा गर्न सहज भए जस्तै दाबी भुक्तानी सहज नभएको, बीमा गरिएका कृषिबाली असिनाका कारणले क्षति हुँदा समेत दाबी भुक्तानी नपाएको, कृषिबीमाका लागि प्राधिकरणले तोकेको बीमा कम्पनीले शाखा कार्यालय समेत स्थापना नगरेको लगायतका गुनासा गरेका थिए ।
कार्यक्रममा फुङलिङ नगरपालिकाका उपप्रमुख भीमा देवी ओझा, वडा अध्यक्ष तथा कार्यकारी सदस्य, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल लगायत कर्मचारीहरु, बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख÷प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।
वि.सं.२०८० वैशाख २० बुधवार १३:५८ मा प्रकाशित




























