काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख २४ गते संसद् अधिवेशन आह्वान गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय लगायतका पाँच निर्णय गरेको छ ।
त्यसैगरी एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख र अन्य टिम अफिसियललाई जनही ३ लाख प्रोत्साहनस्वरूप उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यस्तै कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने निर्णय गरेको छ ।
बैठकले कोशीटप्पु वन्यजन्तु आरक्ष स्थापना गर्दा विस्थापितहरूका सन्दर्भमा थप छानबिन गरी समस्या समाधान गर्न आयोग पुनर्गठन गरी तीन महिना म्याद थप गर्ने तथा विज्ञापन नियमन गर्ने ऐन २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गर्ने निर्णय समेत गरेको छ ।
वि.सं.२०८० वैशाख २० बुधवार १४:३० मा प्रकाशित






























