काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंमार्फत रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी लिएको हो ।
नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले रायमाझीका बाउछोराविरुद्ध पक्राउ पुर्जी लिएको हो । प्रहरीले जनाएअनुसार बुधबार नै पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको छ । प्रहरीले यसअघि तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकारसमेत रहेका इन्द्रजित राईलाई यही प्रकरणमा पक्राउ गरिसकेको छ ।
भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गिरोहले ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाएको प्रहरीले अनुसन्धानले देखाउँछ । जसमा एमालेका महासचिव शंकर पोखरेलदेखि पूर्वउर्जामन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी, पूर्वपरराष्ट्रमन्त्री एवम् कांग्रेस नेतृ सुजाता कोइरालालगायत मुछिएका छन् ।
सम्बन्धित समाचार
भुटानी शरणार्थी प्रकरण : पूर्व गृहसचिव टेकनारायण पाण्डे पक्राउ
वि.सं.२०८० वैशाख २० बुधवार १४:३४ मा प्रकाशित






























