काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका भनिएका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै खेद व्यक्त गरेका छन् ।
केही दिनयता प्रहरीले उक्त प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहितलाई पक्राउ गरेर अनुसन्धान थालिरहेका बेला प्रतीकले विभिन्न संचार माध्यममा आफ्नो नाम पनि उक्त प्रकणमा मुछिएको भन्दै विज्ञप्तिमार्फत् खेद प्रकट गरेका हुन् ।
‘लामो समयदेखि केही संचारमाध्यमले गलत उद्वेश्यका साथ म विरुद्ध तथ्यहीन प्रचार गरिरहेका थिए र छन् । तर, पनि मिडियामा आएका झुटा प्रचारमा प्रतिक्रिया दिने मेरो व्यक्तिगत रुची रहेन,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘म विरुद्ध आज पनि गलत अभिप्रयाकासाथ तथ्यहीन प्रचार र आरोपहरु लगाउने क्रम जारी छ । राजनीतिक प्रतिशोध जस्तो देखिने यस्ता आरोपहरुको भविष्यमा कस्तो किसीमको संस्कारलाई बढावा दिने हो ? भन्ने कुरा बुझ्न जरुरी छ ।’
उनले आफुहरु गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्दा जनताका लागि सधैँ न्यायको पक्षमा काम गरेको बताउँदै भनेका छन्–जनसरोकारका विषयमा कोही कसैसँग सम्झौता नगरी उच्च प्राथमिकताका साथ कटिबद्ध भएर काम गरेका छौं । त्यसबाहेक मेरो राजनीतिक जीवनमा कुनै व्यक्तिगत इच्छा छैन ।’
उनले उक्त प्रकरण संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धीत निकाय, न्यायालयप्रतिको आस्था र सम्मान अनुरुप अनुसन्धान प्रक्रियालाई इमान्दारीपूर्वक सहयोग पुर्याउने प्रतिबद्दता समेत व्यक्त गरेका छन् ।
बुधबार मात्रै पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोप बहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई प्रहरीले बुटवलबाट पक्राउ गरेर काठमाडौं ल्याइसकेको छ भने टोपबहादुर माथि पनि पक्राउ पुर्जी जारी गरिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझीलाई काठमाडौं ल्याइदैंं
वि.सं.२०८० वैशाख २१ बिहीवार १३:२२ मा प्रकाशित






























