काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफू निर्दोष रहेको दाबी गरेका छन् । आइतबार सरकारी वकिलको कार्यालयबाट म्याद थपका लागि प्रहरीले जिल्ला अदालत काठमाडौं लैजाने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै खाँणले यस्तो दाबी गरेका हुन् ।
नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री खाँणले भने, “म निर्दोष छु । नक्कली शरणार्थी प्रकरणमा मेरो कुनै संलग्नता छैन ।”
खाँणलाई पक्राउ परेका आरोपितहरुको बयानका आधारमा वैशाख २७ मा प्रहरीले उनकै निवासबाट पक्राउ गरेको थियो । प्रहरीले उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरेको थियो ।
यसअघि प्रहरीले उनलाई अनुसन्धानमा राख्नको निम्ति तीन दिनको म्याद लिएको थियो । शुक्रबार मध्यरातिबाट म्याद सकिएपछि आइतवार म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको हो ।
हालसम्म नक्कली शरणार्थी प्रकरणमा खाँणसहित पूर्वगृहसचिव टेकनारायण भट्टराई, पूर्वगृहमन्त्री बादलका सल्लाहकार इन्द्रजित राई, एमाले सचिव टोबहादुर रायमाझीका छोरा सन्दिप रायमाझीलगायत १२ जना पक्राउ परिसकेका छन् । पक्राउ पुर्जी जारी भएका एमाले सचिव फरार छन् ।
वि.सं.२०८० वैशाख ३१ आइतवार १७:४७ मा प्रकाशित






























