back
CTIZAN AD

रविको अर्को त्रुटि : अमेरिकी नागरिकता त्यागेको निस्सा बिनै नेपाली नागरिकता

वि.सं.२०८० जेठ ८ सोमवार

1.1K 

shares

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७९ माघ १३ मा गरेको फैसलासँगै रवि लामिछानेले प्रयोग गरिआएको नेपाली नागरिकता बदर भयो । जुन फैसलासँगै उनको नागरिकता मात्र बदर भएन सांसद पद र गृहमन्त्री पद पनि गयो ।

उक्त फैसलाले लामिछानेलाई नयाँ नागरिकता लिनको लागि भने बाटो खुला गराइदिएको थियो । उनलाई नेपालको संविधानको धारा १३ अनुसार, नेपाल नागरिकता ऐन, २०६३ को दफा ११ तथा नेपाली नागरिकता नियमावली, २०६३ को नियम ११ बमोजिम पुनः नागरिकता प्राप्तिको प्रक्रियामा जान पनि विकल्प दिएको थियो ।

लामिछानेले सर्वोच्चको उक्त फैसलापछि माघ १५ मा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट पुनः नागरिकता लिए । पुरानै नागरिकताको नम्बर उल्लेख भई जिल्ला प्रशासनले उनको नाममा नागरिकता जारी गराएको थियो ।

नयाँ नागरिकता प्राप्तिपछि लामिछाने पुनः उपनिर्वाचनमार्फत चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भए । उनी अहिले प्रतिनिधिसभा सदस्य हुन् ।

तर, लामिछानले पुनः लिएको नागरिकता पनि प्रक्रियागतसंगत रुपमा नलिएको देखिएको छ । लामिछानले माघ १५ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिँदा यसअघि लिएको अमेरिकी नागरिकता नत्यागी लिएको भेटिएको हो ।

कानुनी व्यवस्थाअनुसार अन्य देशको नागरिकता त्यागी पुनः नेपाली नागरिकता लिँदा उक्त देशको नागरिकता त्यागेको प्रमाणित हुने निस्सा बुझाउनु पर्दछ । तर, उनले अमेरिकी नागरिकता त्यागेको निस्सा नै पेस नगरी नेपाली नागरिकता लिएको खुलेको छ ।

युवराज पौडेल सफलले दायर गरेको रिटअनुसार सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालय र अध्यागमन विभागलाई पत्र लेख्दै लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा खोज्दा नपाइएको हो । जिल्ला प्रशासन कार्यालय र अध्यागमन विभाग दुवैले सर्वोच्चलाई पत्र लेख्दै अमेरिकी नागरिता त्यागेको निस्सा नभेटिएको जनाएका छन् ।

यसरी हेर्दा, लामिछानेले पुनः लिएको नागरिकता पनि बदर हुने देखिन्छ । लामिछाने पुनः अमेरिकी नागरिकता त्यागेको प्रमाणपत्र पेस गरेपछि मात्रै नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रियामा जान सक्छन् ।

वि.सं.२०८० जेठ ८ सोमवार १२:४५ मा प्रकाशित