काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड टेक्नोलोजी ट्रान्सफर विभागले ‘ज्ञान, सीप तथा प्रविधि हस्तान्तरण’ विषयक एक वेबिनार सम्पन्न गरेको छ।
विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता तथा दक्ष जनशक्तिको क्षमतालाई स्वदेशको विकाससँग आबद्ध गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विभाग प्रमुख तथा एनआरएनएका उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मीले आगामी कार्ययोजना प्रस्तुत गरेका थिए । वेबिनारको सञ्चालन आईसीसीका सचिव तथा विभागका सदस्य सचिव माधव दुलालले गरेका थिए ।
कार्यक्रमको प्रारम्भमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले संघ स्थापनाकालदेखि नै विदेशिने नेपालीको ज्ञान, पुँजी र सीपलाई राष्ट्रिय समृद्धिमा उपयोग गर्ने मूल मान्यताअनुसार काम भइरहेको बताए। उनले वर्तमान कार्यसमितिले संस्थालाई समयअनुकूल पुनःसंरचना गर्ने अभियान अघि बढाएको उल्लेख गर्दै दोस्रो पुस्ताका गैरआवासीय, महिला, युवा तथा विश्वभरका नेपाली विज्ञहरूलाई संघको मूलधारमा जोड्न प्राथमिकता दिइएको जानकारी दिए।
अध्यक्ष शर्माले सन् २०१८, २०२० र २०२३ मा सम्पन्न ग्लोबल नलेज कन्भेन्सनले नेपाल सरकार, निजी क्षेत्र, विश्वविद्यालय र विज्ञबीच सहकार्यको वातावरण सिर्जना गरेको चर्चा गर्दै चौथो ग्लोबल नलेज कन्भेन्सन सन् २०२७ को जनवरीमा आयोजना गर्ने तयारी अघि बढाइएको पनि बताए । साथै, भविष्यमा ज्ञान तथा प्रविधि हस्तान्तरणलाई प्रभावकारी बनाउन विश्वभरका विज्ञलाई एउटै संरचनामा आबद्ध गर्ने गरी एक स्वतन्त्र प्रोफेसनल एण्ड एकेडेमिक युनिट स्थापनाको योजना रहेको उनको भनाइ थियो।
‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा बदल्नुपर्ने आवश्यकता
विभागको कार्यपत्र प्रस्तुत गर्दै प्रमुख डा. ज्ञानेन्द्र रेग्मीले ठूलो संख्यामा नेपाली दक्ष जनशक्ति विदेश पलायन हुँदा स्वदेशमा अभाव सिर्जना भएको तथा यसलाई ‘ब्रेन ड्रेन’ बाट ‘ब्रेन गेन’ मा रूपान्तरण गर्नु आजको मुख्य चुनौती भएको धारणा राखे । विश्वभर करिब २–३ लाख नेपाली विज्ञ तथा अनुसन्धानकर्ता विभिन्न क्षेत्रमा क्रियाशील रहेको उल्लेख गर्दै उनले तिनीहरूको सीप र अनुभवलाई राष्ट्रिय विकासमा जोड्न विभागले नियमित वेबिनार, चौथो कन्भेन्सन, विश्वविद्यालय र अनुसन्धान संस्थासँगको सहकार्य, र एकीकृत डिजिटल डाटाबेस निर्माणलाई प्राथमिकतामा राखेको बताए ।
आगामी ग्लोबल नलेज कन्भेन्सनलाई डिजिटल रूपान्तरण, नवप्रवर्तन, कृषि, ऊर्जा, शिक्षा तथा प्रविधि हस्तान्तरणजस्ता प्राथमिकता प्राप्त क्षेत्रमा केन्द्रित गरी छलफललाई मात्रै नभई कार्यान्वयनमुखी बनाइने उनले स्पष्ट पारे ।
प्रोफेसनल तथा एकेडेमिक युनिटको तयारी थालियो
एनआरएनए प्रोफेसनल एण्ड एकेडेमिक युनिटका संयोजक डा. देवीबहादुर बस्नेतले विश्वभर रहेका चिकित्सक, इन्जिनियर, वैज्ञानिक तथा शिक्षाविद्हरूलाई एउटै सञ्जालमा ल्याई उनीहरूको विशेषज्ञता नेपालको हितमा उपयोग गर्ने उद्देश्यले स्वतन्त्र युनिट गठनको प्रक्रिया अघि बढाइएको जानकारी दिए। सातै प्रदेशका विश्वविद्यालय, अनुसन्धान संस्था र सरकारी निकायसँग सहकार्य गरी ज्ञान आदानप्रदान, अनुसन्धान, स्टार्टअप प्रवर्द्धन तथा प्रविधि हस्तान्तरण गरिने योजना रहेको पनि उनले बताए।
राष्ट्रिय विशेषज्ञ डाटाबेस निर्माण हुँदै
टेक्नोलोजी, इन्जिनियरिङ तथा प्राकृतिक स्रोत समितिका संयोजक डा. ज्ञानेन्द्रप्रसाद जोशीले विदेशमा रहेका नेपाली विज्ञको राष्ट्रिय एकीकृत डिजिटल डाटाबेस बनाइने जानकारी गराए। उक्त डाटाबेसले नेपाल सरकार, विश्वविद्यालय, उद्योग तथा अनुसन्धान संस्थालाई जुनसुकै मुलुकमा रहेका नेपाली विशेषज्ञसँग सजिलै सम्पर्क र सहकार्य गर्न सहज बनाउने उनको भनाइ थियो। ‘ग्लोबल एक्सपर्ट मेन्टरिङ’, ‘रिसर्च फर नेपाल’ जस्ता योजना अघि सारिएको पनि उनले बताए।
नेपाल साइन्स फाउन्डेसनसँग सहकार्यमा जोड
नेपाल साइन्स फाउन्डेसनका संस्थापक अध्यक्ष डा. राजु अधिकारीले विदेशस्थित वैज्ञानिकको विशेषज्ञता नेपालको आवश्यकताअनुसार उपयोग गर्न सरकार, विश्वविद्यालय र निजी क्षेत्रबीच प्रभावकारी साझेदारी जरुरी रहेको बताए । विगतमा भएका आधारभूत प्रयासलाई कार्यान्वयनको तहमा प्रभावकारी बनाउन सुरुआती चरणदेखि नै सम्बद्ध निकायसँग समन्वय गर्नुपर्नेमा उनले जोड दिए।
कृषि क्षेत्रमा प्रविधिको प्रयोगलाई प्राथमिकता
कृषि समितिका संयोजक डा. जगदीश तिमिल्सिनाले नेपालको कृषि आधुनिकीकरणका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल प्रविधि र वैज्ञानिक विधि अपनाउनुपर्ने बताए। रबर खेतीलाई केन्द्रबिन्दु बनाएर पाइलट परियोजनासहितको विस्तृत परियोजना प्रस्ताव (डीपीआर) तयार भइसकेको र त्यसलाई सरकारसमक्ष कार्यान्वयनका लागि पेश गर्न सकेमा कृषिमा ठोस उपलब्धि हासिल हुने विश्वास उनले व्यक्त गरे ।
कार्यक्रमका सञ्चालक तथा आईसीसी सचिव माधव दुलालले विश्वभर छरिएर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता र पेशाकर्मीहरूलाई सक्रिय सहभागिताको आग्रह गर्दै, वेबिनारबाट प्राप्त सुझावलाई आगामी गतिविधिमा समेटी ज्ञान, सीप र प्रविधिमार्फत नेपालको विकासमा ठोस योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
वि.सं.२०८३ असार २२ सोमवार १२:१७ मा प्रकाशित






























